ललितपुरमा दिउँसै महिलाहरु लुटिने गरेको घटना सार्वजनिक भएको छ। विशेष गरेर स्कुलमा छोराछोरी छाड्न जाने महिलालाई लक्षित गरी सुनका गरगहना लुटपाट हुने गरेको जिल्ला प्रहरी परिसर ललिपुरका प्रहरी प्रमुख (एसएसपी) सिद्धिविक्रम शाहले बताए।
यहीअसार १७ गते दिउँसो सवा ३ बजे ललितपुर महानगरपालिका– १० महर्जन गल्लीमा पेम्बा कुमारी लामाको सुनको सिक्री, सोही दिन पौने ४ बजे ललितपुर– ११ मा मिना शाक्यको सिक्री लुट्ने प्रयास भएको थियो।
यस्तै असार १८ गते पौने ५ बजे ललितपुर– ११ मा ममता बज्राचार्यको सुनको सिक्री लुटिएको, १९ गते साँझ साढे ४ बजे ललितपुर– ४ मा सारीका कुशवाहाको सुनको सिक्री लुटपाट भएको थियो।
उनीहरुको सिक्री लुटपाटका भएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ३ जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर– ११ का ३२ वर्षीय लोलिन काजी महर्जन, ललितपुर– ७ का ३१ वर्षीय रवीन्द्र शाक्य र काठमाडौं महानरपालिका– २४ का ३३ वर्षीय रोहन नेपाली रहेका छन्।
प्रहरीले अनुसन्धान गर्दै जाँदा पक्राउ परेका यी ३ जनाले स्कुलमा छोराछोरी छाड्न जाने, ल्याउन जाने महिलालाई लक्षित गरी उनीहरुले लगाएको सुनका सिक्री लुटपाट गर्ने गरेको खुलेको छ। प्रहरी परिसर ललिपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहले भने, ‘अनुसन्धान गर्दै जाँदा पक्राउ परेका यी तीन जनाले कसैलाई लुट्ने प्रयास गरेको, कसैमाथि लुटपाट गरिएको खुलेको छ। विशेष त उनीहरुले स्कुलमा बालबालिका छाड्न, ल्याउन जानेहरुलाई लक्षित गरिएको पाइएको छ।’
लुटपाटमा संलग्न रहेको आरोपमा नेपाली, महर्जन र साक्यलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। लुटपाटका मुख्य योजनाकार महर्जन रहेको एसएसपी शाहले बताए।
अन्य दुई जना माेटरसाइकल र स्कुटरमा महर्जनलाई चढाएर सहयोग गर्नेहरु रहेका छन्। महर्जन यसअघि पनि लागुऔषध, लुटपटा गरेको आरोपमा ९ पटक पक्राउ परिसकेका व्यक्ति हुन्।