वरिष्ठ खेल पत्रकार नवीन अर्यालको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ।
असार २६ गते मंगलबार रसियन हाउस, कमल पोखरीमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाललाई पहिलो पटक अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जितबहादुर केसी, युवा तथा खेलकूद मन्त्री डिगबहादुर लिम्बू, शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनकी अध्यक्ष रेणु शाहा, प्राध्यापक पी खरेल र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले संयुक्तरुपमा लोकार्पण गरेका हुन्।
नेपाली खेलकुदको इतिहासको वृत्तान्त खोतल्ने उनीद्वारा लिखित खोजमुलक पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा प्रकाशन गरिएको हो।
खेल जगतमा साढे दुई दशक लामो समय कलम चलाएका पत्रकार अर्यालको यो पहिलो पुस्तक हो। उक्त पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ।
पुस्तकमा नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेल यात्राको वर्णन गरिएको छ।
नेपाली खेलकुदबारे अध्ययन गर्न चाहनेका लागि पनि यो पुस्तक महत्वपूर्ण दस्तावेजको रुपमा रहने विश्वास गरिएको छ।
नेपाली खेलकुदको ऐतिहासिक तस्बिर, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउने लेखक अर्यालले विश्वास लिएको छ।
नेपालको खेल इतिहासका सम्बन्धमा लेखिएका पुस्तकले खेलप्रेमी पाठक, खेलाडी, अध्येता, प्रशिक्षक र पदाधिकारीलाई इतिहास जान्न महत्वपुर्ण सामग्री बन्ने अपेक्षा गरिएको छ। क्रिएटिभ बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ६२५ रुपैयाँ रहेको छ।