अग्नी सापकाेटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेका होइनौं- प्रचण्ड

Break n Links
Break n Links

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूसँग भएको सहमति कार्यान्वयनका लागि एक महिनासम्म कुर्ने बताएका छन्। त्यसपछि पनि पालना नभए फेरि विरोधमा उत्रिने उनले बताए। 

शनिबार बिहान बिराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले अहिलेका गृहमन्त्री रमेश लेखकलाई जोडिए पनि यो मात्रै लेखकसँग सम्बन्धित नभएको बताए। धेरै पहिलादेखि नै भिजिट भिसामा अनियमितता हुँदै आएको भन्दै उनले त्यसैको समाधानका लागि सत्तारुढ दलहरूले प्रतिवद्धता जनाएपछि आफूहरू संसद खोल्न सहमत भएको पनि दाबी गरे। 

‘यस्तो बेलामा संसद अवरोध गरेरमात्रै समाधान हुँदैन। भिजिट भिसामा मात्रै संसदमा गर्नुपर्ने कामहरू धेरै छन्। सरकारले एकप्रकारले प्रतिवद्धता जनाएपछि हामी पनि सहमत भएका हौं। तर एक महिनाभित्र पालना नभए फेरि विरोध सुरु हुन्छ’ प्रचण्डले भने ‘भिजिट भिसा प्रकरणमा गहिरो छानबिन हुनुपर्छ। त्यसका लागि संयन्त्र बनाउनुपर्छ भन्ने कुरामा हाम्रो सहमति हो।’ 

उनले पार्टी अध्यक्ष अग्नी सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको भन्ने प्रतिपक्षको आरोपलाई पनि खण्डण गरे। 

‘यस्ता वाहियात कुराहरूलाई मानिसले प्रचार गरिरहेका छन्। त्यस्तो केही पनि होइन। भिजिट भिसा प्रकरण र अग्नी सापकोटाको मुद्दामा कुनै साइनो सम्बन्ध नै छैन’ प्रचण्डले भने ‘सदन खोल्ने सहमतिलाई सत्तामा जान लागेको हो कि भन्ने पनि छ। तर अहिले माओवादीको ध्यान सत्तातिर छैन।’ 

लामो समयको अवरोधपछि शुक्रबार प्रतिपक्ष नेकपा माओवादी र सत्तारुढ दलहरूबीच दुई बुँदामा सहमति भएको थियो। त्यसमा भिजिट भिसा प्रकरणको छानबिन अघि बढाउने भनिएको छ। तर प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टी भने त्यसमा सहमत छैनन्। 

सहमतिपछि शुक्रबार संसदको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘माओवादीले विरतापूर्वक सहमति गरेको र त्यसलाई बहादुरीका साथ संसदमा सुनाएको’ भनेर ब्यंग्य गरेका थिए। 

सुरुमा सभामुखले माओवादीका मुख्य सचेतक हितराज पाण्डेलाई बोल्न दिएका थिए। तर रास्वपा र राप्रपाका सांसदले बोल्दै दिएनन्। त्यसपछि उनीहरूलाई बेवास्ता गर्दै सभामुखले हितराजलाई बोल्न भनेका थिए। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरूले पनि बोल्ने पालो पाए। 

त्यसपछि गृहमन्त्री रमेश लेखक पनि बोल्न थालेपछि फेरि रास्वपा र राप्रपाका सांसदहरूले टेबल ठोकेर होहल्ला गर्दै नाराबाजीमा उत्रिएर बेलसमेत घेराउ गरेका थिए। 

प्रकाशित मिति: : 2025-06-14 10:50:00

प्रतिकृया दिनुहोस्