प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सुरक्षाकर्मीले अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरुरी रहेको बताएका छन्।
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक डा मनोजकुमार केसीद्वारा लिखित ‘नेपालमा प्रहरीको सुदृढीकरण, मानव सुरक्षा सूचित दृष्टिकोण, अवधारणा र प्रभाव’ विषयक पुस्तकको आज विमोचन गर्दै उनले प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताएका हुन्।
'सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत् बनाउन जरूरी छ' उनले भने।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदारहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानका लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गरे।
जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डण्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भए पनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने उनले बताए।
उक्त पुस्तक नेपाल प्रहरीलगायत देशविदेशका अन्य सुरक्षा निकायका लागि पनि महत्वपूर्ण दस्तावेजको रूपमा रहने उनको भनाइ थियो।
कार्यक्रममा नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्माले नेपाल प्रहरीले गर्ने कामलाई पुस्तकमा नयाँ ढङ्गले प्रस्तुत गरिएको बताए।
उक्त पुस्तक नेपाल प्रहरीलाई मात्र नभई विश्वका अन्य देशका प्रहरीलाई पनि मार्गदर्शन बन्ने उनको धारणा थियो।
शान्ति र विवाद अध्ययन केन्द्र कम्बोडियाका अध्यक्ष डा एम्मा लेस्लीले पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताए।
कार्यक्रममा पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक डा केसीले पुस्तकको विषयवस्तु, शोधका लागि अपनाइएका उपायहरूलगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकासप्राप्त प्रहरी महानिरीक्षकहरूलगायतको उपस्थिति रहेको थियो।