नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का कार्यकारी निर्देशक ध्रुवराज भट्टराईले कृषक तथा सरोकारवालालाई कार्यालयबाट दिइने सेवासुविधा छिटोछरितो उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को वागमती प्रदेशस्तरीय आर्थिक वर्ष २०७९/८० को चौथो तथा वार्षिक प्रगति समीक्षा गोष्ठी बैठकलाई आज सम्बोधन गर्दै कार्यकारी निर्देशक भट्टराईले कार्यालयबाट तोकिएको समयभित्र तोकिएका लक्ष्यहरु कसरी पूरा गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
‘बागमती प्रदेश स्तरीय चौथो तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागी हुने वैज्ञानिक तथा समस्त कर्मचारीहरुले तोकिएको समयभित्र तोकिएका लक्ष्यहरु कसरी पूरा गर्न सकिन्छ भन्नेमा हामी ध्यानकेन्द्रित गर्न आवश्यक छ’, कार्यकारी निर्देशक भट्टराईले भने, ‘हामीले प्रत्येक कार्यालयबाट छिटोछरितो काम गर्ने वातावरण बनायौं भने कृषक तथा सरोकारवालाहरुलाई मात्रै हैन सबैलाई फाइदा हुन्छ।’
कृषि अनुसन्धान तथा सेवा प्रवाहलाई अझै प्रभावकारी तथा गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी हाम्रो काँधमा भएकाले सोहीअनुसार सबैले आफ्नो जिम्मेवारीलाई पूरा गर्दै अघि बढनुपर्ने उनले बताए।
नार्कको वृहत उदेश्य पूरा गर्ने लक्ष्यसहित सरकारले आर्थिक संकटकको बेलामा समेत कृषि अनुसन्धानलाई महत्व दिएर प्रदान गरेको बजेटलाई पूर्णरुपमा सदुपयोग गर्दै भट्टराईले आगामी तीन वर्षभित्रमा अनुसन्धानमा फड्को मार्ने किसिमले काम गर्नुपर्ने वैज्ञानिक तथा कर्मचारीहरुलाई निर्देशन दिए।
सबैको साथ सहयोगबाट नै नार्कको उदेश्य पूरा हुने बताउँदै उनले नार्कको विविध क्षेत्रमा एकै पटक सुधारको खाँचो रहेकाले सबैको साझा प्रयास आवश्यक रहेको बताए। विगतका कमीकमजोरीलाई सच्याउँदै अझै थप प्रगति गर्नुका साथै कषि अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै कृषकमैत्री हुनुपर्ने उनले बताए।
सो समीक्षा गोष्ठीमा बागमती प्रदेशका ३२ वटा कार्यालयको गत आर्थिक वर्षमा सञ्चालित अनुसन्धान तथा पुँजीगत कार्यक्रमहरुको बजेट, उपलब्धि, प्रगति तथा देखा परेका समस्याबारे सम्बन्धित कार्यालयहरूबाट प्रस्तुति भएको थियो।
राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक वनेशमान साखःको सभापतित्वमा सञ्चालित गोष्ठीमा नार्कका निर्देशकहरूको पनि सहभागिता रहेको थियो। परिषद्अन्तर्गतका विभिन्न कायार्लयहरूबाट विकसित प्रविधि र तिनको कृषकस्तरमा प्रचारप्रसारबारे गहन छलफल हुने सो गोष्ठीका अतिरिक्त यसै हप्ताभित्र देशका अन्य प्रदेशमा पनि नार्कअन्तर्गतका विभिन्न कार्यालयहरूको समीक्षा गोष्ठी हुन गइरहेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्याय बताए। कार्यक्रमको सञ्चालन कुमारमणि दाहालले गरेका थिए।