जुम्लाका औषधि पसल मापदण्डविपरीत सञ्चालनमा 

जुम्ला सदरमुकाम खलंगा बजारमा सञ्चालन भएका औषधि पसलहरु मापदण्डअनुसार नचलेकाे पाइएकाे छ। 

जिल्ला प्रशासन कार्यालय जुम्लाले साेमबार गरेकाे अनुगमनले औषधि पसल मापदण्डअनुसार अनुसार सञ्चालनमा नरहेकाे प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताए।

'हामीले सदरमुकामका आठवटा मेडिकलमा अनुगमन गरेका छाैं,' उनले भने, 'धेरैजसो मेडिकलमा मापदण्ड पुगेकाे देखिएन। एकपटककाे लागि मापदण्ड पूरा गर्न भनेका छाैं।'

उनका अनुसार केही मेडिकलमा इजाजतपत्र एककाे नाममा र औषधि बेच्न अर्कै व्यक्ति बसेकाे पाइएकाे छ।

औषधि ऐन २०३५ अनुसार मेडिकल सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट लाइसेन्स लिएकाे हुनुपर्छ भने हरेक वर्ष नवीकरण गरिएकाे हुनुपर्छ।

लाइसेन्स एउटाकाे नाममा हुने औषधि अर्कैले बेच्ने देशभरकाे साझा समस्या हाे। साेहीअनुसारको जनगुनासाे आएपछि औषधि पसल अनुगम गरिएकाे प्रजिअ घिमिरेले बताए।

'जुम्लाका केही मेडिकलमा लाइसेन्स अर्काकाे, केही क्लिनकाे अनुमति भएपनि औषधि पसलकाे लाइसेन्स नभएकाे भेटियाे,' उनले थपे, 'सुरक्षित गर्भपतनकाे सेवा दिएकाे पसलले अनुमति नै नलिएकाे पाइयाे।'

सरकारी सेवामा कार्यरतले नै मेडिकल सञ्चालन गरिरहेका छन्। अनुगमन गरिएका आठवटै मेडिकलका के के मापदण्ड पुगेका छैनन्, साेही अनुसारकाे टिप्पणी लेखिएकाे उनले बताए।

जुम्लामा कुल ३२ वटा औषधि पसल सञ्चालनमा रहेका छन्। हाललाई एक पटककाे निम्ति मापदण्ड पूरा गर्न निर्देशन दिइएकाे प्रजिअ घिमेरेले बताए।

प्रकाशित मिति: : 2023-07-24 18:15:00

प्रतिकृया दिनुहोस्