कांग्रेस बदल्न कर्म र व्यवहार बदल्न जरुरी छ: उपसभापति गुरुङ

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेस बदल्न पार्टीका नेताहरूको कर्म र व्यवहार बदल्नुपर्ने बताएका छन्।

यही साउन २ गतेदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले भने, 'कर्म  र व्यवहार कहिल्यै नबदल्ने अनि कांग्रेस बदलिनुपर्छ भनेर मात्र हुँदैन।' 

उनले समाज बदल्न आफू उदाहरणीय बने जस्तै पार्टीको सुधारका लागि नेताहरू व्यावहारिकरूपमा सुध्रिनपर्ने बताए। 

उपसभापति गुरुङले पार्टीको विभाग, भ्रातृसंस्था र शुभेच्छुक संस्थाको सङ्ख्याले मात्र नभएर मुद्दाले पार्टी ठूलो बन्ने बताए। उनले पार्टीका मुद्दा बलियो बनाउनतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए। 

'विसं २०१५ मा यी संस्था कम हुँदा पनि दुई तिहाइ मत प्राप्त गरेको हो कि हैन ? पार्टीको नारा र एजेण्डाका कारण त्यो मत प्राप्त गरेको थियो',  उनले भने।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मन्त्रालयको कार्यसम्पादनको विषयमा बैठकमा जानकारी दिँदै भने, 'अनुचित लेनदेन सन्र्दभको विधेयक अघि बढिरहेको छ। आगामी राष्ट्रियसभाको बैठकबाट यो विधेयक प्रमाणीकरणमा जाँदैछ।' 

कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा लेखेबमोजिम उच्च तहका सबै नेताको सम्पत्तिको छानबिन गर्नुपर्ने उनले सुझाव दिए।

'पार्टीले सरकारलाई भन्न सक्नुपर्छ, उच्च तहका सबै नेताको सम्पत्ति छानबिन गरोस्। आज जनताले यो बैठकबाट सम्पत्ति छानबिनसँगै ठूला ठूला भ्रष्टाचारको निष्पक्ष छानबिन होस् भन्ने प्रस्ताव सुन्न चाहन्छन।'

बैठकमा उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुुद्धीकरण विधेयक पनि अघि बढेको जानकारी दिए। 

उनले सङ्घीय शिक्षा ऐन र सङ्घीय निजामती ऐनमा गम्भीर छलफल भइरहेको बताए।

उपसभापति गुरुङले न्यायाधीश नियुक्तिमा ढिलाइ भएको स्वीकार गर्दै कार्यक्षमतालाई हेरेर मात्र न्यायाधीश नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले पार्टीको बैठक जस्तै स्थानीय तहदेखि सङ्घीय निर्वाचनमा पार्टीले टिकट वितरणलाई निष्पक्ष र पारदर्शी बनाउन सुझाव आएको बताए।
 

प्रकाशित मिति: : 2023-07-24 21:36:00

प्रतिकृया दिनुहोस्