डोल्पाको मुड्केचुला गाउँपालिकाले लागु गर्यो आफ्नै पाठ्यक्रम

हिमाली जिल्ला डोल्पामा मुड्केचुला गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम लागु गरेको छ।

जिल्लाका आठवटा स्थानीय तहमध्ये पहिलो पटक गाउँपालिकाले जारी शैक्षिक सत्रदेखि कार्यान्यन हुनेगरी ‘हाम्रो मुड्केचुला सुन्दर मुड्केचुला’ शीर्षकको स्थानीय पाठ्यक्रम लागु गरेको हो।

आधारभुत तह कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम लागु गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गोपाल बुढाले जानकारी दिए।

गाउँपालिकाभित्र रहेका तीन वटा माध्यमिक विद्यालय, चार वटा निम्न माध्यमिक विद्यालय र छ वटा प्राथामिक विद्यालय गरेर १३ वटा विद्यालयमा पाठ्यक्रम कार्यान्वयनमा आएको शाखा प्रमुख बुढाले बताए।

अहिले पाठ्यक्रम कार्यान्वयनमा आइसकेकाले अब सबै समेटेर पाठ्यपुस्तक तयार पारी विद्यार्थीहरुलाई सोहीअनुसार पठनपाठन गराइने उनको भनाइ छ।

संघीयताले स्थानीय सरकारलाई दिएको अधिकारको सदुपयोग गर्दै गाउँपालिकाभित्रका प्राचीन कला, संस्कृति, ऐतिहासिक सम्पदा, उत्पादनलगायतका क्षेत्रका संरक्षण सम्वर्द्धन र प्रचार प्रचारका लागि जिल्लामै पहिलोपटक आफ्नै पाठ्यक्रम तयार पारी लागु गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

मानव संसाधान विकासको मुख्य मेरुदण्डको रुपमा रहेको शिक्षा क्षेत्रलाई गाउँपालिकाले प्राथमिकताका साथ विकास गरिरहेको समेत अध्यक्ष शाहीले बताए। जिल्लाका अन्य स्थानीय तहले भने आफ्नै पाठ्यक्रम बनाउन सकेका छैनन्।

प्रकाशित मिति: : 2023-07-27 12:17:00

प्रतिकृया दिनुहोस्