‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै १५ साउनदेखि अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन्।
१३ साउनदेखि पीडित परिवारले अनशन बस्ने, १४ साउनमा मोटरसाइकल र्याली निकाल्ने र १५ साउनदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने पीडित संघर्ष समितिका संयोजक रुपसागर देवीले बताइन्।
रौतहटको कटहरियास्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानमा संघर्ष समितिको बिहीबार बसेको बैठकले आन्दोलनलाई शान्तिपूर्ण रुपमा अगाडि बढाउने निर्णयसमेत गरेको छ।
हत्याकाण्डका आपराधिलाई कानुनी कठघेरामा ल्याउन निरन्तर सरकारलाई ध्यानार्षण गराउँदा समेत कुनै सुनुवाइ नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली र रौतहट बन्द गर्ने निर्णयमा पुगेको संघर्ष समितिले जनाएको छ।
हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशकभन्दा बढी हुन लाग्दासमेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्धालाई ओझेलमा पारेको भन्दै संघर्ष समितिका संयोजक देवीले आक्रोश व्यक्त गरेकी छन्।
२०६३ चैत्र ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताहरुले २८ जना माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए।
उपेन्द्र यादवको नेतृत्वमा भएको सो घटनामा परी २७ जनाको घटना स्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो भने सयौँको संख्यामा घाइते भएका थिए।
यो घटना प्रचलित नेपाल कानून बमोजिम अपराध मात्रै नभई नेपाल पक्ष रहेको टरचर कन्भेन्सनलगायतका अन्य अन्तर्राष्ट्रिय महासन्धी समेतले यस्ता प्रकारको जघन्य अपराधलाई अन्तर्राष्ट्रिय अपराधको रुपमा स्वीकार गरेको छ।
पीडितहरुको आन्दोलनमा आम जनता पार्टी (आजपा)ले समेत समर्थन गरेको छ। पीडित परिवारलाई न्याय दिनुपर्ने भन्दै आजपा अध्यक्ष एवं सांसद प्रभु साहले संसदले यसबारेमा पटक पटक कुरा उठाउँदै आएका छन्।