कलाकार बसुन्धरा भुसाल र चैत्यदेवी सिंह आफ्नो पैसा फिर्ता माग गर्दै अनशन बसेका छन्।
सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा बचत गरेका साढे दुई करोड फिर्ता हुनुपर्ने माग राख्दै उनीहरु माइतीघरमा अनशन बसेका हुन्। उनीहरुले दिउँसो २ बजेदेखि रातको १० बजेसम्म अनशनरत रहने छन्।
सहकारीले पैसा खाएर भागेपछि उनीहरुले एक महिनाअघि केपी शर्मा ओली र प्रधानमन्त्री ‘प्रचण्ड’लाई समेत गुहारेका थिए। तर, कतैबाट सुनुवाई नभएपछि सहकारी पीडितसँगै माइतीघरमा अनशन बसेका हुन्। अनशन बस्नु कुनै रहर नभई बाध्यता भएको कलाकार बसुन्धरा भुसालले बताइन्।
‘सहकारीले पैसा खाएर भागेपछि समस्या भएको छ। प्रधानमन्त्रीदेखि के.पी ओली ज्युलाई समेत गुहार गर्यौँ, तर कतैबाट सुनुवाई हुन सकेन।’ उनले भनिन्,‘अनि हामी माइतीघर आउन बाध्य भयौँ।’
यसैगरी सहकारीले पैसा नदिदाँ बसुन्धरा फाउन्डेसनले बर्सेनि दिँदै आएको डेढ लाख रुपैयाँ राशिको पुरस्कार वितरण हुन नसकेको बसुन्धरा बताउँछिन्। ‘हामीले वर्षैदेखि दुःख गरेर कमाएको बचतले आफ्नो कार्यक्रम चलाउने गर्थ्यौं। अहिले हामीले यसरी रोइ कराई गर्दापनि सरकारले केही गर्न सकेको छैन। आएर जाने मात्रै काम भयो तर, कुनै निकाशा निकाल्न सकेको छैन’, उनले भनिन्।
यसैगरी चैत्यदेवीका अनुसार ‘सहकारीले पैसा खाएपछि हाम्रो बिजोग भयाे। गाँसबास नै उठ्यो। जम्मा गरेको पैसा माग्दा सहकारीले दिँदैन। घर चलाउन नै मुस्किल भएपछि सरकारलाई दबाब दिन अनसन बस्न बाध्य भएका हौँ।’
उनीहरुका अनुसार बसुन्धराको सहकारीमा १५ लाख रुपैँया र चैत्यदेवीको ६३ लाख रुपैँया डुबेको छ। साथै उनीहरूलाई अनसनमा साथ दिन अभिनेता सविन श्रेष्ठ पनि पुगेका छन्।