डोल्पामा चर्केर छिया–छिया भएको भवनमा भविष्यका कर्णधार !

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने करेलीकाँडा गाउँमा रहेको प्राथामिक विद्यालयका बाल–बालिका चर्केको भवनमा पठनपाठन गर्न बाध्य भएका छन्।

लेखनाथ आधारभुत विद्यालयमा अध्ययनरत वाल विकासका केन्द्र र कक्षा १ र २ का विद्यार्थीहरु चर्केर छियाछिया भएको भवनमा पठन–पाठन गर्न बाध्य भएका हुन्।

कक्षा १ देखि ५ सम्म पठनपाठनहुने यस विद्यालयमा पर्याप्त भवन नहुँदा चर्केको जिर्ण भवनमा जोखिम भएको थाहा पाउँदा–पाउँदै पनि विद्यार्थी राख्नु परेको शिक्षक नवराज थापाले बताएका छन्।

कुल ८३ जना विद्यार्थी भएको यस विद्यालयमा चालीस जना भन्दा धेरै विद्यार्थीलाई चर्केको भवनमा राखेर पढाउँदै आएको उनको भनाई छ।

लामोसमय देखि चर्केको भवनबाट पठन–पाठन गराउँदै आएपनि तीन तहको सरकारबाट भवन निर्माणकोलागि कुनै पनि सहयोग नभएको वडा सदस्य झलक बुढाले गुनासो पोखेका छन्।

भुकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोप आएको खण्डमा ठुलो मानविय क्षतिको जोखिम उच्च रहेकाले अभिभावकहरु ठुलो चिन्तामा रहेको बुढाको भनाई छ।

त्यतिमात्र नभई करेलीकाँडाका विद्यार्थीहरु निम्नमाध्यामिक र माध्यामिक तहको शिक्षा लिनकालागि दुई घण्टा पैदल हिँडेर त्रिपुराकोट माध्यामिक विद्यालय मद्धु र त्रिपुरा माध्यामिक विद्यालय काटियाचौरमा पुग्ने गर्दछन्।

अप्ठेरो बाटो,बर्षात,बाढी,पहिरो लगायतको जोखिम पार गर्दै  निम्न माध्यामिक र माध्यामिक तहको शिक्षा लिन घण्टौ हिँड्नु पर्ने भएकाले कक्षा ६ देखि ८ सम्मे कक्षा थप गर्दिन सम्बन्धित निकायलाई स्थानीयले माग गरेकाछन्।

भौगोलिक हिसाबमा डाँडामाथि विद्यालय रहेकाले बर्षातको समयमा बाढी र पहिरो जोखिम पनि उत्तिकै रहेको छ।

त्यतिमात्र नभई गाउँमै खानेपानीको समस्या भएकाले विद्यालयमा समेत पानीको चरम समस्या रहेको विद्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2023-08-10 10:28:00

प्रतिकृया दिनुहोस्