डाेल्पाकाे त्रिपुरासुन्दरीमा उत्पादित सबै अंगुर स्थानीय सरकारले नै किन्ने 

हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा उत्पादित कृषकको अंगुर नगरपालिकाले नै खरिद गर्ने भएको छ।

नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, खदाङ्ग, फोईलगायतका विभिन्न स्थानमा व्यावसायिक रुपमा उत्पादन गरिएको सबै अंगुर नगरपालिकाले नै खरिद गर्ने भएको हो।

बजारीकरणको अभावमा प्रत्येक वर्ष कृषकले बेहोर्नु परेको लाखौँ घाटालाई मध्येनजर राख्दै यसवर्ष नगपालिकाभरिको सम्पूर्ण अंगुर नगरपालिकाले नै खरिद गर्ने निर्णय भएको नगरप्रमुख जनचन्द्र रोकायले बताए।

यसरी खरिद गरिएको अंगुरको जुस बनाएर नगरपालिका आफैँले बिक्रीवितरण गरिने रोकायको भनाई छ।

नगरपालिकाले अंगुरको भुक्तानी प्रतिकिलो ८० रुपैयाँका दरले एकमुष्ट रुपमा कृषकलाई उपलब्ध गराउने भएकाले यस वर्ष कृषकलाई डोकोमा बोकेर बजार खोज्दै जानुपर्ने बाध्यता हटेको र कृषकहरु पनि धेरै खुशी भएको नगरप्रमुख रोकायले बताए।

नगरपालिकाभरीका सम्पूर्ण कृषकको अंगुर किन्दा करिब दश लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ।

अघिल्ला वर्षहरुमा अंगुर नबिक्दा कृषकहरुलाई समस्या हुने गरेको थियो। वर्षभरि दुखकष्ट गरेर जोगाएको अंगुर ग्राहक नपाउँदा भनेको भन्दा कम मूल्यमा बेच्नुपर्ने र सित्तैमा बाँड्नुपर्ने अवस्था आउने गरेको थियो।

नगरपालिकाले सम्पूर्ण कृषकहरुले उत्पादन गरेको अंगुर किन्ने निर्णयले आफूहरु धेरै उत्साहित भएको त्रिपुराकोटका अंगुर कृषक कमल हमालले बताए। यो निर्णयले कृषकहरुको पसिना पुछेकाले प्रत्येक वर्ष नगरपालिकाले यसैगरी एकमुष्ट रुपमा किन्न आग्रह पनि हमालले गरे।

नगरपालिकालाई फलफूलमा आत्मनिर्भर गराउने उदेश्यले पूर्व मेयर स्वर्गीय ओमबहादुर बुढाले भारतको नासिकबाट अंगुर ल्याएर कृषकलाई व्यावसायिक रुपमा खेती गर्न लगाएका थिए।

प्रकाशित मिति: : 2023-08-11 13:08:00

प्रतिकृया दिनुहोस्