डोल्पामा उर्लियो ठुलीभेरी, तटीय क्षेत्र बाढीको उच्च जोखिममा

हिमाली जिल्ला डोल्पामा रहेको ठुलीभेरी नदीमा पानीको बहाव यस बर्षकै उच्च देखिएको छ।

अविरल रुपमा परेको वर्षातका कारण ठुलीभेरीमा पानीको बहाव उच्च भएपछि सदरमुकाम दुनैसहित नदी तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका छन्।

वर्षायाम सुरु भएसँगै दिन प्रतिदिन ठुलीभेरीमा पानीको बहाव बड्न थालेपछि जिल्ला सदरमुकाम दुनै, भित्ती, त्रिपुराकोट बगर, खदाङ, करोपगाड, त्रिवेणीलगायतका बजारहरु बाढीको उच्च जोखिममा परेको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए।

सदरमुकाम दुनै बजार भएर बग्ने ठुलीभेरी नदीमा पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रमा बसोबास गर्दै आएका सर्वसाधारण त्रसित भएको बुढाले बताए।

बजारबासीले हिउँदको समयमा भेरीको किनारा मिचेर बनाएका घर, टहरा र शौचालयहरु बनाएपछि जनधन क्षतिको जोखिम थप भएको उनको भनाइ छ।

दुनै बजार भेरीको जोखिममात्र नभई पहिरोको जोखिमसमेत उत्तिकै रहेको स्थानीय राकेश केसीले बताए। जथाभाबी खनिएका सडकका कारण पहिरो खतराले दुनैबासी पानी परेका बेला चिन्ताले सताउने गरेको उनको भनाइ छ।

केही वर्षअघि सदरमुकाम दुनै जोगाउनका लागि बनाइएको मेसिनरीवालले केही हदसम्म भएपनि सुरक्षा दिएको सदरमुकामबासीको भनाइ छ।

वर्षातका कारण भेरी नदीको बहाव निरन्तर बडिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोल्पाले आग्रह गरेको छ।

देशभरि नै बाढीले वितण्डा मच्चाइरहेको बेला डोल्पामा त्यस्ता अप्रिय घटना घट्न नदिन र भइहालेको खण्डमा उद्धार तथा राहत वितरणका लागि जिल्ला विपत व्यवस्थापन समिति तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भुमिश्चर पोख्रेलले जानकारी दिए।

गाउँघरमा त्यस्ता घटना घटिहाले तुरुन्तै स्थानीय सरकार, प्रहरी र प्रशासनलाई खबर गर्न आग्रह समेत गरे।

खतराको पूर्व सूचना केन्द्र छैन

भेरी नदीको किनारमा रहेको कर्णाली प्रदेशको एक मात्र जिल्ला सदरमुकाम दुनै पर्दछ। कम क्षेत्रफलमा रहेको सदरमुकाम दुनै प्रत्येक वर्ष बाढी र पहिरोको उच्च जोखिममा पर्ने गर्दछ।

वर्षौँदेखि दुनैलगायत नदी किनाराका बस्तीहरु भेरीको उच्च जोखिममा भएपनि हालसम्म कुनैपनि खतराका पूर्व सूचना दिने यन्त्र तथा पूर्व सूचना केन्द्र भने राखिएको छैन।

लाखौँ क्यूसेक पानीले केही मिनेट मात्र धार परिवर्तन गरेमा करोडौँको क्षतिका साथै हजारौँको सङ्ख्यामा मानवीय क्षतिसमेत बेहोर्नुपर्ने सरोकारवाला निकायको भनाइ छ।

विगतदेखि नै भेरी नदी अतिक्रमण गरेर घर टहरा निर्माण गर्ने काम भइरहेपछि स्थानीय प्रशासन र स्थानीय सरकारले कुनै चासो दिएको भने छैन।

प्रकाशित मिति: : 2023-08-14 18:04:00

प्रतिकृया दिनुहोस्