पहिरोले ५ दिनदेखि भेरी करिडोरको डोल्पाखण्ड अवरुद्ध, चारपाँग्रे सवारीसाधन ठप्प

हिमाली जिल्ला डोल्पा जोड्ने भेरी करिडोरको डोल्पाखण्ड पहिरोका कारण पाँच दिनदेखि अवरुद्ध भएको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ मा पर्ने अनारदुलामा ठुलो पहिरो खसेपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो।

नियमित चलिरहेको सडक अवरुद्ध भएपछि जिप, ट्रकलगायतका चारपाँग्रे सवारीसाधन आवागमन ठप्प भएको छ भने मोटरसाइकल जोखिम मोलेर वारपार गर्ने गरेका छन्।

करिब एकसातादेखि डोल्पा जोड्ने मुख्य सडक अवरुद्ध भएपनि सडक खुलाउनकालागि त्रिपुरासुन्दरी नगरपालिकाले चासो देखाएको छैन।

सडक अवरुद्ध भएपछि मालवाहक गाडीबाट नियमित ढुवानी भइरहेका खाद्य सामाग्रीको आपुर्ति रोकिएको र आएको सामान पनि महँगो भएको स्थानीय व्यापारीहरुले बताएका छन्।

त्रिपुरासुन्दरी नगरपालिकाले पहिरो पन्छाउने काम आफ्नो नभएको र भेरीकरिडोरको पर्ने बताएकाले अब सडक खुलाउन तर्फ लागिरहेको भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुजन अधिकारीले बताए।

वर्षामायस्तै समस्या आउँछ भनेर पहिलानै पहिरो पन्छाउने टेण्डर खुलाएर पनि डोल्पाकै स्थानीय शे–फोक्सुण्डो कन्ट्रक्सनले जिम्मा पाइसकेकाले नगरपालिकाको प्राविधिक सहयोगमा एक दुई दिनभित्रै सडक खुलाउने गरी समन्वय भइरहेको उनको भनाइ छ।

सडक अवरुद्ध भएपनि डोल्पाबाट जिल्ला बाहिर जाने र जिल्ला बाहिरबाट डोल्पा आउने यात्रुहरु गाडी परिवर्तन गरेर आवतजावत गर्न बाध्य भएका छन्।

प्रकाशित मिति: : 2023-08-18 15:11:00

प्रतिकृया दिनुहोस्