प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकार देशको सम्बृद्धि र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक अघि बढेको बताएका छन्।
१७औँ राष्ट्रिय सूचना दिवसकाे अवसरमा काठमाडौँमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा सुशासन कायम नहुँदासम्म सम्बृद्धि र सामाजिक न्याय सम्भव नभएकाे बताए।
‘अतः भष्टाचारजस्तो जघन्य अपराधलाई जरैदेखि उखेलेर फाली सुशासन कायम गर्ने सरकारको लक्ष्य हो। यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछु’, उनले भने, ‘हिजो भ्रष्टाचारले आक्रान्त भएका शासकीय क्षमता कमजोर भएका मुलुकहरूले समेत आफूलाई सुधार गर्दै आर्थिक समृद्वितर्फ फड्को मार्दै गर्दा हामीले आफ्नो अवस्थाबारे सोच्नैपर्दछ।’
प्रधानमन्त्रीले अब सामाजिक न्याय र समृद्विको सोँचलाई वास्तविकतामा रूपान्तरण गर्ने बेला भइसकेको छ।
‘हो, हिजो राजनीतिक अस्थिरतालाई दुहाई दिँदै विकास समृद्वि सम्भव भएन भन्ने गरिन्थ्यो, तर अब कुनै पनि बहानावाजी सैह्य हुने छैन’, उनले भने, अब सामाजिक न्याय र समृद्विको सोँचलाई वास्तविकतामा रूपान्तरण गर्ने बेला भइसकेको छ।’
प्रधानमन्त्री प्रचण्डले अब एकअर्कालाई दोषारोपण गर्दै सत्तोसराप गर्ने वा समस्याका चाङ् खडा हुँदा पनि त्यसको समाधान नगरेर अवरोध गरिरहने छुट नभएकाे जिकिर गरे।
‘अब हामीलाई रूमलिने, एकअर्कालाई दोषारोपण गर्दै सत्तोसराप गर्ने वा समस्याका चाङ् खडा हुँदा पनि त्यसको समाधान नगरेर अवरोध गरिरहने छुट छैन। मैले भन्ने गरेको छु, अब हामी सबै मिलेर यो राष्ट्र बनाउँ। जनताको हितका बारेमा सोंचौं’, उनले भने।
प्रधानमन्त्रीले राष्ट्रिय समृद्विका लागि सरकार, सबै राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजसहित सबै सार्वजनिक निकाय गोलवन्द र एकताबद्ध हुन आह्वानसमेत गरेका छन्।