यार्साबाट मात्रै डोल्पा भित्रियो १ अर्ब ४७ करोड

हिमाली जिल्ला डोल्पा जडीबुटीको भण्डारको रुपमा चिनिन्छ। डोल्पामा पहेँलो सुनको रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा, जटामसी, गुच्ची च्याउ, सेतकचिनी, पदमचाल, पाँच औँलेलगायत विभिन्न प्रजातिका जडीबुटी प्रशस्तमात्रामा पाइने गर्दछन्।

त्यसोत यसवर्ष यार्सागुम्बा खरिदका लागि मात्रै डोल्पामा १ अर्ब ४७ करोडभन्दा धेरै रकम भित्रिएको तथ्यांकले देखाएको छ।

यार्सागुम्बा बिक्री वितरणका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै ५ सय ८८ किलो बराबरको छोड पुर्जी जारी भएको छ।

प्रतिकिलो पच्चीस लाखले मात्र १ अर्ब ४७ करोड रकम भित्रिएको स्थानीय यार्सा व्यापारीले बताएका छन्। तीस लाखका दरले हिसाब गर्ने हो भने झण्डै दुई अर्ब पुग्ने उनीहरुको भनाई छ।

यस वर्ष डोल्पामा प्रतिकिलो १० लाख देखि ३० लाखसम्म यार्सागुम्बाको खरिद बिक्री भएको दोलखाकी यार्सा व्यापारी मिमा फिन्जुक शेर्पाले बताइन्।

एक दशकभन्दा धेरै पहिलाबाट डोल्पामा यार्सा व्यापार गर्दै आएकी शेर्पाका अनुसार यार्सा पहिलो दोस्रो र तेस्रो गरेर तीन प्रकारको हुने भएकाले मूल्य पनि त्यही अनुसार हुने गर्दछ।

डोल्पा गुण र परिमाणको आधारमा नेपाल धेरै यार्सागुम्बा पाइने जिल्ला भएकाले यस वर्ष राम्रो यार्साको ३० लाखसम्म कारोबार भएको निकुञ्जको भनाइ छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल भण्डारीका अनुसार एउटै जिल्लामा करिब ४५ दिनको अवधिमा गरिएको दुखले डेड अर्बभन्दा धेरै रकम भित्रिनु सुखद कुरा भएको बताए।

यार्साबाट प्राप्त यो रकम जिल्लाका ग्रामिण बस्तीमा रहेका नागरिकका हातहातमा पुगेको यसले डोल्पाबासीको जिवनस्तर सुधारमा ठुलो टेवा पुग्ने उनले बताए।

त्यतिमात्र नभई यो रकम विदेशबाट डलरको रुपमा भित्रिने भएकाले समग्र देशको अर्थतन्त्रमा समेत टेवापुग्ने भण्डारीको भनाइ छ।

त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा मात्रै झण्डै एक करोड बढी भित्रिएको छ। यार्सागुम्बाका बिक्री वितरणबाट यस वर्ष एक करोडभन्दा बढी रकम भित्रिएको स्थानीय चन्द्र बहादुर लामाले बताए।

उनका अनुसार विगतका वर्षहरुभन्दा यो वर्ष भित्रिएको रकम थोरै हो। ‘दुई तिन वर्ष अघिसम्म दुई करोड भन्दा धेरै रकम भित्रिने गर्थ्याे, शहर बजारमा घर घडेरी जोड्थे, अहिले यार्साको पैसाले स्थानीयहरु वर्षभरिका आवश्यकता पूरा गर्छन्’, लामाले भने।

यस वर्ष निकुञ्बाट मात्रै यार्सागुम्बा खरिद बिक्रीका लागि दुई सय पैतालिस किलो बराबरको छोडपुर्जी वितरण भएको निकुञ्जले जनाएको छ।

आव ०७९/०८० मा मात्रै निकुञ्जले दण्ड जरिवाना, यार्सागुम्बा, पर्यटन, अन्य जडीबुटीलगायतबाट कुल दुई करोड तीन लाख ८४ हजार छ सय ८२ राजश्व उठाएको छ।

आव ०७८/०७९ भन्दा अघिल्लो आवमा ३५ प्रतिशतले राजश्वमा वृद्धि भएको निकुञ्जले जनाएको छ। त्यसैगरी डिभिजन वन कार्यालय डोल्पाबाट मात्रै तीन सय ४३ किलो बराबरको यार्सागुम्बाको छोडपुर्जी वितरण भएको छ।

अघिल्लो आवमा मात्रै वनले एक करोड १२ लाख ४९ हजार राजश्व संकलन गरेको डिभिजन वन अधिकृत महेश कुमाइले जानकारी दिए।

यसरी व्यापारीले संकलन गरेको सयौँ किलो यार्सागुम्बा जहाज र हेलिकप्टर चार्टर गरेर काठमाडाैँसम्म ढुवानी हुने गरेको छ।

प्रकाशित मिति: : 2023-08-21 15:33:00

प्रतिकृया दिनुहोस्