नेपालको केरामा पानामा ओइलाउने रोगको नयाँ प्रजाति ‘टिआर ४’ फेला परेको छ। टिआर ४ प्रजाति नेपालमा पहिलोपटक फेला परेको हो। कैलालीको टिकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरले आज (सोमबार) केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराएको हो।
उक्त केन्दका वैज्ञानिक डा. रामबहादुर खडकाले केरामा पानामा रोगको प्रजाति टिआर ४ नेपालमा पहिलो पटक टिकापुर क्षेत्रमा फेला परेको बताए।
‘पानामा रोग केरामा लाग्ने प्रमुख रोग हो। यो रोग फ्यूजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीद्वारा लाग्दछ। यो ढुसीको ४ वटा रेसहरु (प्रजाति) हुन्छन्। तीमध्ये रेस २ र ३ जंगली जातको केरामा लाग्दछ। नेपालमा मालभोग र अरु स्थानीय जातका केरामा रेस १ लाग्ने गर्दछ’, वैज्ञानिक खडकाले भने, ‘गएको ७/८ बर्षमा यो रेसले चितवन लगायत धेरै क्षेत्रमा केरामा नोक्सानी पुर्याउँदै आएको छ। यी रेसहरु १, २ र ३ बाहेक रेस ४ जसलाई ट्रोपिकल रेस ४ (टिआर ४) भनेर चिनिन्छ जुन केरा खेतीका लागि सबैभन्दा खतरनाक मानिन्छ।’
टिकापुर क्षेत्रको केरामा टिआर ४ फेला परेको पुष्टि पिसिआरको साथै जिन सिक्वेस्सिङ विधिद्वारा गरिएको उनले बताए। यो टिआर ४ ले खासगरी जि नाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातहरुमा आक्रमण गर्ने गरेको वैज्ञानिक खडकाले बताए। यो टिआर ४ केरा खेती गरिने अन्यत्र क्षेत्रमा फैलिएमा नेपालको फस्टाउँदो केरा खेतीमा ठुलो नोक्सानी पुर्याउन सक्ने उनले बताए।
राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायको टोलीले सूचना प्राप्त भएपछि टिकापुर क्षेत्रका किसानले लगाएको केरा खेतीको अवलोकन गरेको थियो। १० साउनमा सो क्षेत्रका नौ जना कृषकले लगाएको आठ हजार केराका बोटलाई प्रत्यक्ष अवलोकन गरेका थिए।
‘हामीले अवलोकन गर्दा पानामा रोगसंग मिल्दोजुल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा फ्यूजारिय अक्सिस्पोरियम क्युवेन्सिका बीजाणुहरु भेटिएका थिए’ वैज्ञानिक खडकाले भने, ‘त्यसपछि उक्तः बीजाणुबाट डिएनए निकालेर टिआर ४ विशेषको प्राइमर राखी पिसिआर गर्दा पोजेटिभ भेटियो। उक्त पिसिआर प्रडक्टलाई हङकङ स्थित बेइजिङ जिनोमिक इन्स्टिच्यूटमा सिक्इयुनिन्सग गर्दा टिआर ४ भएको पुष्टि भयो।’
अहिले ग्रिन हाउसमा तीन भिन्नभिन्न जातका केरामा कृत्रिम रुपमा राखेर यसको लक्षणहरुको विकासक्रमलाई अध्ययन गर्ने काम भइरहेको छ।
अनुसन्धान केन्द्रका प्रमुख सुरज वैद्यले यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेलो हुने बताए। त्यसपछि पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठहरु भाँचिने गरेको उनले बताए।
थाम ठाडो चिरेर भित्र हेर्दा खैरो गानाबाट पुप्पातिर फैलिएको देखिन्छ। जराहरु कालो हुन्छन र सडछन जसले गर्दा पानामा ओइलाउने रोग लगाउने ढुसी केरामा प्रवेश गर्न सहयोग पुग्ने वैद्यले बताए।
कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीले यो माटोमा बस्ने ढुसी भएका कारण एक ठाउँबाट अर्को ठाउँसम्म संक्रमित विरुवा, माटो, पानी र कृषि औजारबाट सर्न सक्ने बताए। त्यसको अलावा केरा बोक्न गाडीको टायर, मान्छेको जुता, चप्पलमा टाँसिएको माटो मार्फत एक खेतबाट अर्काे खेतमा सर्ने सम्भावना त्यतिकै भएको उनले बताए।
यो रोग खास गरी भारतबाट आयातित जी नाइनका विरुवामा रोगको प्रकोप बढी देखिएको छ। अनुसन्धान केन्द्रले चितवन र नवलपरासीबाट आयात गरिएका मालभोग जातका केरामा पनि पानामा रोगका लक्षण देखिएका छन्। यद्यपि ती लक्षण रेस ४ वा रेस १ के ले गर्दा हुन भन्ने कुरा भने एकिन गर्न बाँकी नै रहेको छ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले अनुसन्धान केन्द्रले यसबारेमा सम्बन्धित ठाउँमा गई सरोकारवालाहरुसँग छलफल एवं निरिक्षण गरी थप जानकारी संकलन गर्नका लागि एक समिति गठन भएको जानकारी दिए।
डा. रामबहादुर खडकाको संयोजकत्वमा गठित समितिमा प्रकाश पौडेल, बसन्त चालिसे, राजिवराज भण्डारी, देवराज अधिकारी, वशिष्ठ आचार्य र संयम पंडित सदस्य रहेको उनले बताए।
उक्त पत्रकार सम्मेलनमा कैलालीबाट प्रतिनिधि सभा सदस्य रुपा चौधरी, टीकापुर नगरपालिकाका उपप्रमुख खड्गबहादुर शाह, नार्कका निमित्त कार्यकारी निर्देशक डा. कृष्णकुमार मिश्रलगायतको सहभागिता थियो।