प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनैतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रहेको बताएका छन्।
मंगलबार संसदमा प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रममा सहभागी हुँदै एमाले सांसद ईश्वरी जीएमले सोधेको प्रश्नको जवाफमा प्रचण्डले यस्तो बताएका हुन्।
सांसद जीएमले तीन रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे सशस्त्र द्वन्द्वको शुरुवात गरेर तीन पटक प्रधानमन्त्री हुँदा रोल्पालाई के दिनुभयो भन्दै प्रश्न गरेकी थिइन्।
जवाफमा प्रचण्डले इतिहासको हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुने बताउँदै रोल्पाको विकासका लागि प्राथमिकता राखेको बताए।
प्रचण्डले सहिद मार्गलाई प्राथमिकतामा राखेर काम भइरहेको पनि जानकारी दिए। घोराही–होलेरी सडकखण्डको ३१ किलोमिटर सडकको सुधार गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए। साथै घोराही–होलेरी सडकखण्डमा वैकल्पिक सडक बनाउनका लागि छलफल गर्ने प्रचण्डको भनाइ छ।
यस्तो छ सांसद ईश्वरी जीएमको प्रश्न
१) रोल्पालाई मुख्य आधार इलाका बनाएर दश वर्षे सशस्त्र द्वन्द्वको शुरुवात गर्नुभएको सम्माननीय प्रधानमन्त्रीज्यू तीन पटक प्रधानमन्त्री हुँदा पनि रोल्पालीको जनजीवनमा परिवर्तन आउने गौरवका योजना दिन सक्नु भएन। रोल्पालीको त्यो ऐतिहासिक सहयोग प्रधानमन्त्री भएपछि बिर्सनु भयो भन्ने रोल्पालीको गुनासो छ। त्यो गुनासोलाई कसरी सम्बोधन गर्नुहुन्छ?
२) जुम्लामा स्याउ पाक्ने समय आयो, केही दिनपछि यसले बजार भाउ नै नपाउने अवस्था आउन सक्छ र कतिले बजार पनि नपाउने हुन सक्छ। यसको व्यवस्थापन कसरी रु सरकारको प्लान के छ?
३) दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा शहीद भएकाहरूको सम्झना र सम्मानका लगि दाङको घोराहीदेखि रोल्पाको होलेरी, घर्तीगाउँ हुँदै रुकुम पूर्वको हुकाम मैकोट सम्म पुग्ने २२० कि मि सडक खण्डलाई वर्तमान सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना र पहलमा शहीद मार्ग नामकरण गरेर योजना अगाडि बढाइएको थियो। बजेट अभावमा योजना निकै कछुवा गतिमा भई अझ सम्पन्न हुन सकेको छैन। शहीद मार्गको मुख्य प्रवेशद्वारको रपमा रहेको घोराहीदेखि रोल्पा होलेरी सम्मको ३१ किलोमिटरको सडक खण्ड अलपत्र र जोखिमपूर्ण भएको लामो समय बितिसक्यो। यसबारे सदनमा मैले ३र४ पटक कुरा राखिसकेँ। तर सरकारले यो योजनालाई प्राथमिकतामा पारेन किन?
४) रोल्पाको रुम्टीगढी गाउँपालिका भित्र अहिले चारवटा चुन ढुङ्गा खानी सञ्चालनमा छन् भने थप चारवटा खानी दर्ता भएर सञ्चालनको प्रक्रियामा छन्। हाल २०० बढी टिप्पर सञ्चालनमा छन् भने पुरानो र नयाँ गरी ८ वटा चुन ढुङ्गाः खानी सञ्चालनमा आउँदा दिनमा कम्तीमा पाँचसयदेखि ७०० सम्म टिप्पर घोराही होलेरीको यही शहीद मार्ग भएर सञ्चालनमा आउने छन्। जसले गर्दा उक्त सडकमा अन्य गाडीहरू सञ्चालनमा आउन निकै बाधा पर्ने र हाल बाधा परिरहेको पनि जानकारी गराउँछु। त्यसैले सो क्षेत्रमा वैकल्पिक औद्योगिक मार्ग बनाउने र घोराही होलेरीको ३१ किलोमिटर सडकलाई कालोपत्र गर्दै शहीद मार्ग योजना समयमै सम्पन्न गर्न सरकारको के योजना छ रु म सम्माननीय सभामुखज्यू मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्दछु। धन्यबाद।
प्रधानमन्त्री प्रचण्डको जवाफ
१) नेपालको राजनीतिक आन्दोलनमा रोल्पा जिल्लाको विशिष्ट र ऐतिहासिक योगदान रही आएकोमा कसैको विमति छैन। इतिहासका हरेक कालखण्डमा रोल्पाली जनताको वीरता र साहसको उच्च प्रशंसा हुनेछ । रोल्पाको समग्र विकास र जनताको जीवनस्तरमा रूपान्तरणका लागि विगतदेखि नै उच्च प्राथमिकता दिँदै आएको छु । मानव विकासमा पछाडि रहेका कर्णाली प्रदेश¸ सुदूर पश्चिम प्रदेश¸ मधेश प्रदेश¸ रोल्पा¸ रुकुमलगायतका जिल्ला तथा क्षेत्रलाई विकासको मूल प्रवाहमा ल्याउन र ती क्षेत्रमा पूर्वाधारका संरचनाको विकासका लागि सरकारले प्राथमिकताका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
२) जुम्ला जिल्लाको विकासलाई सरकारले प्राथमिकतामा राख्दै सरकारले स्याउको सुपर जोन तथा पकेट क्षेत्रहरू घोषणा गरी आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। यस वर्षको बजेट तथा कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायतका कार्यक्रम तथा प्रदेश तथा स्थानीय तहको विकास कार्यक्रमबाट उत्पादन, प्रशोधन तथा प्याकेजिङ्गमा आवश्यक सहयोग तथा सहुलियत प्रदान गरिएको छ। स्याउको भण्डारणको लागि उच्च क्षमताको कोल्डस्टोर निर्माण भइरहेको छ।
३) सरकारले दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै रुकुमको मैकोटसम्मको शहीदमार्गलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आइरहेको छ। सडक र पुलको भाग देशभरि नै अत्यधिक हुने गरेको, थुप्रै सडक योजनाहरू सञ्चालन गर्नु परिरहेको तर पर्याप्त बजेट विनियोजन गर्न नसकिएको अवस्था हो। घोराही होलेरी खण्डको ३१ कि। मि। सडक अत्याधिक भार बोक्ने सिमेन्ट उद्योगका ट्रकहरूको कारणले क्षति भएको छ। भार नियन्त्रण गर्दै सडकको आवश्यक मर्मत सम्भार गरी सडक सुधार गर्न ध्यान दिइनेछ।
४) घोराही–होलेरीको वैकल्पिक सडक बनाउने सुझावका विषयमा आगामी दिनमा छलफल गरी कार्य अघि बढाइनेछ।