नेपाल शिक्षक महासङ्घले कञ्चनपुरको भीमदत्त नगरपालिका–१०, जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका लेखा सहायक वीरेन्द्रप्रसाद जोशीमाथि विद्यालय परिसरमा भएको आक्रमणको घटनाप्रति विरोध जनाएको छ।
जोशीलाई अभिभावकको गुनासोका आधारमा यही भदौ ३ गते प्रहरीले पक्राउ गर्न खोज्दा जोशीमाथि कुटपिट भएको थियो।
महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज विज्ञप्ति जारी गरी प्रहरीकै सामुन्ने कृटपिट हुँदा प्रहरी प्रशासन मौन रहनुले विद्यालयका शिक्षक–कर्मचारीहरुले असुरक्षा महसुस गरेको उल्लेख गरेका छन्।
महासङ्घले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरका शिक्षक–कर्मचारीले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले जोशीलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुठो मुद्धा लगाउन खोजिएको आरोप लगाउँदै महासङ्घको ऐक्यबद्धताप्रति धन्यवाद दिए।