कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा परेको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको छ।
उक्त रिट निवेदन शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हाे।
नेकपा एमालेले प्रदेशसभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेको थियो।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया नमिलेको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। त्यसपछि आजका लागि पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।
भदौ ४ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिदा प्रदेश सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरी समेतले मतदान गरेका थिए। त्यसपछिमात्र थापाले ४७ मत प्राप्त गर्दै प्रदेशसभाबाट विश्वासको मत पाएका थिए।