संसारका धनी राष्ट्रहरूको शिखरसम्मेलन जी-२० लागि ‘दुलही’झैँ सजिएको छ- नयाँ दिल्ली। अध्यक्ष राष्ट्रको हैसियतबाट भारतले शिखर सम्मेलनलाई भव्य बनाउँदैछ।
सम्मेलन नजिकिँदै गर्दा विदेशी पाहुनाहरूका लागि सुरक्षा, खान र बस्नका लागि विशेष व्यवस्था मिलाइएको छ।
पहिलोपटक भारतमा हुन गइरहेको सम्मेलनमा ‘विदेशी पाहुना’का लागि विलासी गाडी र सुरक्षा व्यवस्थालाई ज्यादै महत्व दिइएको छ।
सम्मेलन अवधिभर नयाँ दिल्लीमा ५० हजार सुरक्षाकर्मी खटाइएका छन्। त्यस्तै, विलासी गाडीहरू भारतमै अपुग हुँदा नेपाल र यूएईबाट भाडामा लगिँदैछ।
जी-२० शिखर सम्मेलनका लागि नेपालबाट विलासी गाडीहरू लगिएको नवभारत टाइम्सले जनाएको छ।
पाहुना-नेताहरूलाई देखाउनका लागि सुविधासम्पन्न र ब्रान्डेड गाडी चाहिएको छ। भारतको सबैभन्दा पुरानो गाडी भाडामा दिने कम्पनी केटीसी इन्डियाले नेपालबाट २५ वटा टोयोटा कम्यूटर भ्यान भाडामा लगिएको जनाएका छन्।
त्यस्तै, कम्पनीले यूएईबाट एउटा लक्जरी भ्यान ल्याउँदैछ। केटीसीका प्रवन्ध निर्देशक गुरुदेव अहलूवालियाले सम्मेलनका लागि १०५० भन्दा बढी विलासी गाडीहरू चाहिएको टाइम्स अफ इन्डियालाई जनाएका छन्।
र, त्यो मागको ६३ प्रतिशत पूरा भइसकेको छ। तर सम्मेलनमा चाहिने विलासी गाडीहरू भारतसहित नेपालबाट लगिएको दाबी छ। दुबईबाट बाँयातिरबाट चलाइने एउटा विलासी गाडीसमेत ल्याउने कोसिस भइरहेको छ। यी गाडीहरू विशेष सुविधासहित पाहुना बोकेर नयाँ दिल्लीमा गुड्ने छन्।
गाडीभित्र वास्नादार अत्तर र बेग्लै ब्रान्डको टिस्यू पेपर राखिनेछ। विलासी गाडीभित्र प्रतिनिधिमण्डलसँग अंग्रेजी र अन्य भाषा बोल्ने अनुवादकहरू हुनेछन्।
भारतले जी-२० शिखर सम्मेलनलाई सबैभन्दा धेरै महत्व दिएको छ। तर चीनका राष्ट्रपति सी चिनफिङ सम्मेलनमा सहभागी नहुने भएका छन्। उनको सट्टा चिनियाँ प्रधानमन्त्री ली चियाङ आउनेछन्।
त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि नयाँदिल्ली आउने छैनन्। रुसको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लावरोभले गर्नेछन्।
जी-२० मा अमेरिका, बेलायत, रुस, चीन, भारत, फ्रान्स, जर्मनी, इटली, जापान, साउदी अरब, अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, युरोपियन युनियन, इन्डोनेसिया, मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र टर्की सदस्य छन्।