देउवालाई दबाब- प्रधानमन्त्री हटाऊ कि ‘कन्ट्रोल’ गर 

केही दिनअघि सुर्खेतमा भएको समाजवादी मोर्चाको एउटा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘वर्खापछि लाखौं मान्छे सडकमा ओराल्ने’ चेतावनी दिए।

आफैले सरकार चलाइरहेका छन्, अनि प्रधानमन्त्री आफैले सडकमा मान्छे उतार्ने भनेर कसलाई चेताइरहेछन्?

यस्तै-यस्तै अराजक अभिव्यक्ति र एक्लै चल्न खोल्ने प्रचण्ड स्वभावका कारण लामो समयदेखि सत्ता साझेदार दलहरूमा पनि खटपट उत्पन्न भइरहेको छ। 

पुराना-पुराना फाइलहरू खोल्दै मान्छे तर्साइरहेको सरकारी अभियानले पनि यो गठबन्धनलाई निकै बिथोल्न थालेको छ। 

तर प्रधानमन्त्री प्रचण्डले भने सरकारको यो अभियान अब नरोकिने दाबी गरेका छन्। 

‘माओवादीका जुनसुकै नेताहरू परुन्, आफ्नै मान्छे परुन् तर हामी रोकिदैनौं। सरकार रोकिन्न’ प्रचण्डले भनिरहेका छन् ‘अनुसन्धानको दायरामा प्रधानमन्त्रीकै नाम आए पनि यो अभियान अब रोकिन्न।’

के सरकार फेरिन्छ?

निरन्तर ‘अराजक अभिव्यक्ति’ दिँदै हिँडेका प्रधानमन्त्री फर्नेबारे अब नेपाली काँग्रेसमा पनि छलफल सुरु हुन थालेको छ। नेपाली काँग्रेस सरकारको प्रमुख साझेदार पनि हो। 

नेपाली काँग्रेसभित्र अहिले बलियो अडान लिँदै आएको शेखर कोइराला समूहले अब प्रधानमन्त्रीको विकल्प खोज्ने आइसकेको भन्दै त्यसबारे पार्टीसभापति शेरबहादुर देउवासँग पनि कुराकानी गर्न थालेको छ।  

तर देउवा भने यसबारे अहिलेसम्म बोलेका छैनन्। यसअघि प्रधानमन्त्रीकै अघि देवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि हपारेका थिए। देउवाको हप्काइ खाइरहेका श्रेष्ठले प्रधानमन्त्रीसँग पनि छलफल त गरेका छन् तर प्रचण्डले उनलाई केही भनेका छैनन्। 

काँग्रेसको दबाव र प्रचण्डकौ मौनताबाट झन आत्तिएका श्रेष्ठ अहिले भने झन कडा कडा अभिव्यक्ति दिन थालेका छन्। 

मकवानपुरमा बिपी कोइरालाको शालिक अनावरण गर्न पुगेका नेता कोइरालाले त्यहाँ पनि सरकारको विकल्प खोज्नुपर्ने बताएका थिए। 

उनका अनुसार यसबारे नेपाली काँग्रेसभित्र पनि छलफल भइरहेको भन्दै चाँडै नै यसबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने पनि बताए। 

‘बरू हाम्रै संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्छ। संसदीय परम्परा नै हो। संसदीय दलका नेता स्वभाविकरुपमा प्रधानमन्त्रीका उम्मेदवार हुन्’ कोइरालाले भनेका छन् ‘अब हामीले त्यतातिर सोचेर अघि बढ्नुपर्छ। पार्टीभित्र पनि मैले कुरा राखिसकेको छु।’

पन्ध्रौं महाधिवेशनमा पार्टी सभापतिका लागि देउवासँगै भिडेका कोइराला समूहका महामन्त्री गगन थापा त्यसपछि संसदीय दलको नेता बन्न देउवासँगै लडेका थिए। तर त्यहाँ देउवाले नै जिते। 

पराजयको केही समयसम्म फेरि संसदीय दलको नेता फेर्नुपर्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका गगनलाई त्यसपछि कोइरालाले सम्झाएका थिए। 

उनले आफ्ना पक्षमा सांसद संख्या नपुग्दासम्म यस्ता अभिव्यक्ति नदिन सुझाएपछि थापाले त्यसपछि यस्ता अभिव्यक्तिहरू दिन छोडेका छन्। 

पार्टीभित्र देउवाको प्रतिपक्षजस्तै भएको यो समूह अहिले निर्णायक नै छ। देउवा पनि अहिले जिम्मेवारी बाँडफाँड गरेर आफू अलि खुकुलो हुन खोजिरहेका छन्। 

यसअघि नै कोइरालाले आगामी महाधिवेशनमा देउवाकै सहयोगमा आफू सभापति बन्नेसम्मका अभिव्यक्ति दिएका छन्। 

काँग्रेसी नेताहरूका अनुसार देउवा पनि अब नेतृत्व नै परिवर्तन हुने भए कोइरालाकै हातमा पार्टी नेतृत्व सुम्पिएर आफू विदा लिने तयारीमा छन्। उनले भनि पनि सकेका छन् ‘यो मेरो अन्तिमपटक हो। अब कोही आउनुहुन्छ भने नेतृत्व दिन तयार छु।’

सरकारका पछिल्ला गतिविधिहरू खासगरी पूर्वगृहमन्त्री बालकृष्ण खाण र त्यसपछि सांसद सुनिल शर्मा अनि ललिता निवास प्रकरणपछि नेपाली काँग्रेस झन चिढिएको छ।

काँग्रेसभित्र अब प्रधानमन्त्री परिवर्तन गर्नेबारे बहस पनि पेचिलो बन्न थालेको छ।  

‘संसदमा हाम्रा नै धेरै सांसद छन्। ९० जना सांसद भएको नेपाली काँग्रेस नै सबैभन्दा ठूलो पार्टी हो’ कोइरालाले भनेका छन् ‘प्रधानमन्त्रीकै कारण धरानमा त्यस्तो भइरहेको छ। अझ प्रधानमन्त्रीको कुर्सीमा बसेर सडकमा मान्छे ओराल्ने भनिरहेका छन्। प्रधानमन्त्री अराजक भइसक्नुभएको छ। अब विकल्प खोज्ने बेला भइसकेको छ।’

प्रचण्ड किन अत्तालिइरहेका छन्?

खासमा प्रचण्डलाई थाहा छ, सरकार ढाल्नका लागि यहाँ सत्ता साझेदार दलहरू र प्रमुख प्रतिपक्ष एमाले पनि लागिरहेको छ। एमालेलाई सरकारमा आफू जानुभन्दा पनि प्रचण्डको गठबन्धन तोड्नुछ। त्यो कुरा बुझेका प्रचण्डले अहिले समाजवादी मोर्चा बनाएका छन्। 

आइतबार हेटौंडामा भएको समाजवादी मोर्चाको कार्यक्रममा पनि प्रचण्डले त्यस्तै अभिव्यक्ति दिए। 
‘अहिले त हामी कोठाभित्रै सिमित भएर कार्यक्रम गरिरहेका छौं’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ‘अब सडकमा लाखौं मान्छे उतार्छौं।’

प्रचण्डले सरकारको सुशासन अभियानबाट समाजको एक तप्का अत्तालिएको र सरकार ढाल्ने षड्यन्त्र भइरहेको पनि बताउँदै आएका छन्। प्रधानमन्त्री भनेको त्यसकै विरुद्धमा उनले ‘लखौं मान्छे’ उतार्दैछन्।

माओवादीले सुरु गरेको ‘जनतासँग माओवादी’ अभियानको खास उद्देश्य पनि त्यही नै हो। उनले अभियान सुरु गर्दा नै भनेका थिए ‘जनताका घरघर गएर सरकारले गरेको राम्रा कामहरूको प्रचार गर्नुस्।’ 

‘सडकमा लाखौं जनता उतार्ने’ प्रचण्ड आइडिया पनि त्यही नै हो।

सरकारको कामकारबाहीका बारेमा पार्टी सभापति देउवा खासै खुलेर बोलेका छैनन्। तर काँग्रेसका अरु नेताहरूले भने प्रधामन्त्री प्रचण्डलाई ‘कन्ट्रोल’ गर्न नभए उनको विकल्प खोज्न भन्दै देउवालाई दाबाव दिइरहेका छन्। 

‘सरकार यसैगरी चल्ने हो र प्रधानमन्त्रीले यस्तै अराजक भएर बोलिरहने हो भने यो सरकार देशकै लागि खतरा बन्नसक्छ’ कोइरालाले भनेका छन् ‘कांग्रेस नेतृत्वको ‍सरकारले मात्रै देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुन्छ। त्यसैले अब ढिला गर्नुहुन्न भनेर मैले भनिसकेको छु।’

यसअघि सांसद सुनिल थापा गिरफ्तारीका बेला पनि काँग्रेसका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेरका लागि माओवादीसँग कुरा गर्न देउवालाई दबाव दिएका थिए। 

‘यो त अलि बढी नै भइरहेको छ। प्रधानमन्त्रीजस्तो पदमा रहेका व्यक्तिले त्यसरी उत्तेजना अनि अराजकता फैलाउनेगरी बोल्नुहुन्न’ कोइराला समूहका एकजना नेता भन्छन् ‘हामीले हाम्रो पार्टी सभापतिज्यूलाई पनि भनिसकेका छौं। यसबारे छलफल त पार्टीभित्र सुरु भइसकेको छ। प्रधानमन्त्रीलाई कि कन्ट्रोल गर्नुपर्‍यो। कि विकल्प खोज्नुपर्‍यो।’

उनका अनुसार देउवाले पनि प्रचण्डसँग यो कुरा गर्न खोजिरहेका छन्। तर पछिल्लो समय मोर्चाको कार्यक्रम र विदेश भ्रमणको तयारीमा व्यस्त रहेका प्रधानन्त्रीलाई देउवालाई समय दिन भ्याइरहेका छैनन्।   

‘अहिले उहाँ(प्रधानमन्त्री)ले समय दिइरहनुभएको छैन। विदेश भ्रमण अनि धेरैजसो त मोर्चाकै कार्यक्रममा बिजी भएर पनि होला’ उनले भने ‘अब यसबारेमा चाँडै नै छलफल गरेर अघि बढ्नेछौं।’

उनका अनुसार बरू नेपाली काँग्रेसकै नेतृत्वमा अब सरकार गठन हुनुपर्छ भन्ने दबाव पनि काँग्रेसभित्र निकै बढिरहेको छ। 

चुनावलगत्तै काँग्रेसकै नेतृत्वमा सरकार बनाउने अन्तिम बेलामा प्रचण्ड एमालेतिर गएपछि माधव नेपालको पार्टी एकीकृत समाजवादी र नेपाली काँग्रेस बाहिरै थिए। त्यो बेला नेपाली काँग्रेसले नै पहिलो पालोमा प्रधानमन्त्री नछोड्ने अडान राखेपछि प्रचण्ड एमालेतिर गएका थिए।

एक महिना पनि नपुग्दै फेरि नेपाली काँग्रेस र एकीकृत समाजवादी भित्रिए र एमाले बाहिरियो। 

त्यसपछि प्रचण्डले माधव नेपाल, उपेन्द्र यादव र नेत्र विक्रम चन्द विप्लवलाई च्यापेर समाजवादी मोर्चा बनाए। अहिले त्यसैको बलमा उनले सडकमा लाखौं मान्छे उतार्ने धम्की दिइरहेका छन्। 

मोर्चाभित्रै पनि खटपट सुरु भइरहेको छ। ‘सन्देश सभा’ गर्दै प्रदेश प्रदेश चाहरिरहेको मोर्चाका एक घटक एकीकृत समाजवादीका नेताहरूले सार्वजनिक रुपमै असन्तुष्टी राख्न थालेका छन्। माधव नेपाल प्रचण्डसँग सँगै रहे पनि नेता झलनाथ खनाल भने सरकारका कामबारे खुलेरै बोल्न थालेका छन्। 

माधव नेपाल त बरु प्रचण्डले जे-जे भन्छन् त्यसमै मुन्टो हल्लाउँदै हिँडिरहेका छन्। 

आइतबार हेटौंडाको सभामा प्रधानमन्त्री प्रचण्डसँगै बसेका माधव नेपालले प्रचण्डका अभिव्यक्तिहरू दिने खालको भाषण गरेका थिए। 

उनले त्यहाँ समाजवादी मोर्चाले सडक र सदनबाट सरकारलाई दबाव दिने बताउँदै नेता नेपालले सरकारमा भएको दल नै सडकमा उत्रिदाँ त्यसले नराम्रो सन्देश जानसक्ने बताए।

‘सरकारमा भएको दलले सडकमा आन्दोलन गर्नुहुँदैन भन्ने मान्यता होइन। त्यही भएर यो मोर्चा हामीले बनाएका हौं’ उनले भने ‘सदनमा भएका दलहरूले त्यहाँबाट सरकारलाई खबरदारी गर्नुपर्छ र अरूले सडकबाट। हामी दुवै मोर्चामा हुनेछौं।’

प्रकाशित मिति: : 2023-09-10 20:38:00

प्रतिकृया दिनुहोस्