खेलभन्दा धेरै विवादले घेरियो एन्फा (भिडियाे)

BreaknLinks
BreaknLinks

खेलभन्दा धेरै विवादै विवादले भरिएकाे अखिल नेपाल फुटबल संघ (एन्फा) को लफडा यसपालि अध्यक्षविरुद्ध ‘अविश्वास’को प्रस्तावसम्म पुगेको छ।

एन्फाले विशेष साधारणसभा भर्चुअल रुपमा गर्न आह्वान गरेपछि त्यसलाई विधानविपरीत भएको भन्दै क्लबहरूले त्यसको विरोध गरेका थिए। त्यसपछिको विवाद अध्यक्ष हटाउनेसम्म पुग्यो।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न मागसहित ४९ जना सदस्यहरूले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

एन्फाले गत भदौ २४ गते विशेष साधारणसभा बैठक बोलाएको थियो। यो पनि भर्चुअल नै थियो तर त्यो दिन धेरै सदस्यहरू अनलाइनमा आएनन्। कोरम नपुगेपछि बैठक भोलिपल्ट सारियो। तर २५ गते एन्फामा आवद्ध ४९ सदस्य तथा क्लबले अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराए। प्रस्ताव दर्ता भएसँगै एन्फाको विशेष साधारणसभा स्थगित भयो।

एन्फाले विशेष साधारणसभा भर्चुअल रुपमा गर्न आह्वान गरेको थियो तर क्लब तथा सदस्यहरुले साधारणसभा भौतिक रुपमा गर्न माग गरेका थिए। एन्फाको विधानअनुसार विशेष भर्चुअलका बारेमा कुनै पनि व्यवस्था गरिएको छैन। अहिले भर्चुअल नै गर्नुपर्ने कुनै त्यस्तो विशेष अवस्था पनि छैन। महामारी संक्रमणका बेला नेपालमात्रै नभएर विश्वभरि यस्ता ‘भर्चुअल’ बैठक र कार्यक्रमहरूको लहर बढेको थियो।

विशेष साधारणसभा भर्चुअल रुपमा गर्न नमिल्ने र यो विधानविपरीत भएको भन्दै विरोध भए पनि एन्फाले केही प्रतिक्रया नदिएपछि बैठक स्थगित गरेकाे संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए।

गत असारमा निर्वाचित भएर आएका नेम्वाङको नेतृत्वको यो पहिलो विशेष साधारणसभा हो तर क्लब तथा सदस्यहरूले नै एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई भेटेर प्रस्ताव दर्ता गराएपछि एन्फा अहिले संकटमा परेको छ।

‘हामी ३२ वटा क्लबले यही भदौ ६ गते विधानमा भर्चुअल रुपमा साधारणसभा गर्न अवस्था छैन, यो विधानविपरीत हो भनेर दर्ता गराएका थियौँ, तर एन्फाले यसलाई बेवास्ता गर्याे, त्यसपछि हामीले बैठक स्थगित गरेका हाैँ’, अध्यक्ष तुलाधरले भने।

बैठक स्थगित भएपछि उनीहरुले अध्यक्ष र महासचिवलाई बर्खास्त गर्न मागसहित ३० दिनभित्र विशेष साधारणसभा गर्न माग राखेका छन्।

एन्फाले कोरोना महामारीको बेला साधारणसभा भर्चुअल रुपमा गर्न मिल्ने विधेयक पास गरेको थियो। तर यो विषेश अवस्थामा मात्रै हो। नत्र साधारण समयमा त्यो लागू हुँदैन।

तर यसपालि फेरि पनि एन्फाले भर्चुअलबाट साधारणसभा गर्ने भनेर एक महिनाअघि नै सूचना जारी गर्‍यो।

'एन्फाले साधारणसभा भर्चुअल गर्न भनेपछि त्यसबीचमा एन्फाको आवद्ध संस्थाहरूले भौतिक रुपमै सभा गर्नुपर्ने माग गरेका थिए, यसबारेमा हाम्रो छलफल भइरहेको थियो', एन्फाका सह-महासचिव दामोदर बद्री भट्टराईले भने, 'तर उहाँहरु सभामै सहभागी नभएपछि बैठक नै स्थगित गर्नुपर्ने अवस्था भयो।'

एन्फामा आवद्ध संस्थाहरूले छलफल चलिरहँदा एकतर्फ साधारणसभा भौतिक रुपमा गर्नुपर्छ भनिरहेका थिए भने अर्कोतर्फ सहभागिता जनाउन आफ्ना प्रतिनिधिहरू पनि पठाइरहेको थिए।

‘हामीले ६ गते दर्ता गर्न जाँदा नै भर्चुअल बैठकको प्रक्रियामा आश्वस्त पारेमा हामी सहभागी हुन्छौँ भनेका थियौँ तर उहाँहरुले विधानअनुसार ७ दिनअघि दिने सूचना पनि दिन सक्नुभएन', संकटाका अध्यक्ष तुलाधरले भने, 'यसरी संस्था विधानविपरीत जानु हुँदैन भनेर हामीले सचेत गराएको हौँ।'

एन्फामा ८६ जना विशेष प्रतिनिधि छन्। जसमा ४९ सदस्यले अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गएका छन्। एन्फाले अब साधारणसभा नबोलाएमा क्लब तथा सदस्य आफूहरूले नै साधारणसभाका लागि आह्वान गर्न पाउनुपर्ने प्रस्तावमा लेखिएको छ।

गत भदौ २४ को साधारसभामा एन्फाले एउटा अडिटर नियुक्ति गर्ने एजेन्डामात्रै तय गरेको थियो। अर्को महिना वार्षिक साधारणसभा गर्नैपर्नेछ।

अर्काे महिना पुन: सभा भौतिक रुपमै हुने कारणले गर्दा एउटा एजेन्डाको लागि भर्चुअल रुपमै सभा गर्न उचित रहेको एन्फाले ठानेको थियो। भौतिक रुपमा सभा गर्दा आर्थिक र समय दुवैको बर्बाद हुने एन्फाले जनाएको छ।

'भर्चुअल गर्न नहुने परम्परा हामीले स्थापित गर्‍यौँ भने हामीले डिजिटलाइज जमानालाई अपनाउन सक्दैनौँ' सहसचिव भट्टराईले भने, 'एक महिनापछि हाम्रो नियमित साधारणसभा छ, अहिले जम्मा एउटा एजेन्डाको लागि किन सबैको आर्थिक र समय दुवै बर्बाद गर्नु?’

एन्फाले यो विशेष साधारसभालाई जुममार्फत गर्न निर्णय लिएको थियो। सोही निर्णयपछि क्लबहरू यस विषयमा छलफल गर्न एन्फामै पुगेका थिए तर त्यहाँका पदाधिकारीहरूले वास्ता नगरेपछि झन विवाद चर्कियो।

'अडिटर नियुक्ति भनेको संस्थाको वार्षिक बजेटसँग जोडिएकाे कुरा हो। यसमा बैठक नै स्थगित गर्नु भन्दा आएर अडिटर नियुक्तिको कुरालाई समर्थन गरेर हाम्रो भौतिक रुपमा हुने साधारणसभामा समस्याहरु उठान गरेको भए आज फुटबलको विषयमा यति गल्त समाचारहरु प्रकाशित हुँदैन थियो', सह-महासचिव भट्टराईले भने।

गत वर्ष निर्वाचित भएर आएसँगै एक वर्षीय कार्यकालमा नेम्वाङ धेरै विवादमा तानिइसकेका छन्। अविश्वासका प्रस्तावमा अध्यक्ष नेम्वाङ र महासचिवविरुद्ध १९ वटा आरोप लगाइएको छ।

'एन्फा अहिले अफ्ठ्यारो अवस्थामा नै छ। अहिले एन्फा फिफाको कन्ट्रोल फन्डिङमा छ, हाम्रो सबैभन्दा ठूलो फन्डिङ नै फिफाबाट हुन्छ', अध्यक्ष तुलाधर भने, 'तर अफ्ठ्यारो अवस्थामा हुँदाहुँदै पनि राम्रोसँग गर्न सक्ने कामहरू पनि गर्न सक्नुभएको छैन।'

२४ गतेको साधारणसभा कोरम नपुगेर सुरु हुनेबित्तिकै सकियो। तर २२ गते पुन: हुने भनिएको साधारणसभा ३२ क्लबले बहिष्कार गर्याे। 'अन्तर्राष्ट्रियस्तरमा परिचित रहेको फुटबलभित्र जब अविश्वासको प्रस्ताव, बर्खास्त माग, यति वटा क्लब, यति जिल्ला भनेर हामीले फरकफरक राख्न थाल्यौँ, यो ठूलो समस्याको कुरा हो', सह-महासचिव भट्टराईले भने।

तर संकटाका अध्यक्ष भने घरेलु र नियमित प्रतियोगिताहरू समेत गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको विकल्प खोज्नुपरेको बताउँछन्।

'एन्फाले एक वर्षसम्म लिग नै गर्न सकेन। हामी लिग हुन्छ कि भनेर कुरेर बस्यौँ। आर्थिक मन्दी त हामीलाई पनि लागिरहेको छ, यस्तो मन्दीमा पनि हामीले लिग खेल्यौँ। तर, एन्फाले लिगको चक्रलाई पूरा गर्न सकेको छैन', अध्यक्ष तुलाधरले भने।

एन्फाले गत जेठमा ए डिभिजन लिग गरेको थियो। बी र सी डिभिजन लिग भने हुन सकेको छैन। तर प्रतियोगिता हुनुपर्ने सुरुमा तल्लो डिभिजनबाट थियो। ‘जे कामको लागि जितेर जानुभयो, त्यो काम उहाँहरूले गर्नुभएको छैन। प्रतियोगिता केही भएको छैन, एक वर्षमा गर्नुपर्ने काम उहाँहरूबाट केही भएको छैन', तुलाधर भन्छन्, 'उहाँहरूलाई सचेत गराउन जरुरी पनि थियो, यति धेरै काम नगर्नु भनेको सानो कुरो होइन।’

प्रकाशित मिति: : 2023-09-17 16:51:00

प्रतिकृया दिनुहोस्