‘केटीलाई जिस्काएको’ भन्दै साथीमाथि खुकुरी प्रहार, बायाँ हात लिएर भागेको ३४ वर्षपछि पक्राउ

BreaknLinks
BreaknLinks

वि.सं. २०४६ कात्तिक १७ गते भोजपुरको तत्कालीन दोभाने गा.वि.स.वडा नं. ६ (हाल साल्पासिछिलो गाउँपालिका– ५)का बद्रीकुमार राई (तत्कालीन २६ वर्षीया)को हत्या भयो। दोभाने गा.वि.स– ७ का वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका बद्रीकुमारको खुकुरी प्रहारबाट हत्या भएको थियो।

उनलाई खुकुरी प्रहार गर्ने व्यक्ति थिए, भोजपुरको साविक दोभाने गा.वि.स. वडा नं. ८ (हाल साल्पासिछिलो– ५)का तत्कालीन २७ वर्षीय चक्रबहादुर राई।

चक्रबहादुरले बद्रीबहादुरको शरीरका विभिन्न भागमा खुकुरी प्रहार गर्नुका साथै उनको बायाँ हात काटेर साथमै लिएर भागेका थिए।

खुकुरी प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेका बद्रीकुमारको उपचारको लागि अस्पताल लैजाँदै गर्दा दोभानेपाटीमा मृत्यु भयो।

छोराको हत्यापछि बद्रीबहादुरका बुबा पदमबहादुर राईले २०४६ कात्तिक २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दर्ता गराए।

बुबा पदमबहादुर राईले जाहेरी दिएपछि चलेको मुद्दाको भोजपुर जिल्ला अदालतबाट २०६० जेठ २७ गते फैसला भयो। अदालतले चक्रबहादुरसहित तीन जनालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो। अदालतबाट फैसला त आयो तर चक्रबादुर र उनका साथीहरु भेटिएनन्।

दोभानेबासीले घटना बिर्सिएका थिए।

तर, प्रहरीले अनुसन्धान जारी राखेको थियो। र, घटना भएको ३४ वर्षपछि चक्रबहादुर प्रहरीको पञ्जामा परे।

चक्रबहादुरलाई यही असोज ५ गते शुक्रबार सुनसरीको इटहरी उपमहानगरपालिका– २० तरहरामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिप पाठकले बिएल नेपाली सेवालाई जानकारी दिए।

चक्रबहादुरको उमेर अहिले ६७ वर्ष पुगेको छ।

उनको घरमा श्रीमतीसहित छोरा–बुहारी र नाति–नातिना पनि छन्। करिब दुई दशक भारतमा लुकेर बसेका उनले केही वर्षयता तरहरामा बंगुर फर्म सञ्चालन गर्दै आएका थिए। ‘घटनापछि उनी भागेर भारत गएका रहिछन्। त्यसपछि नेपाल फर्किएर इटहरीमा फर्म लगाएर बसेको अवस्थामा हाम्रो टोलीले पक्राउ गर्‍यो,’ डिएसपी पाठकले भने।

चक्रबहादुर आजै कारागार चलान भइसकेको छन्।

आइतबार कारागार चलान हुनुअघि चक्रबहादुरले संक्षिप्त बयान दिँदै बद्रीबहादुरलाई हत्या गर्नुको कारण बताएका छन्। ‘त्यो बद्री गाउँमा हिरो बन्न खोज्थ्यो। त्यसले गाउँमा केटीहरुलाई जिस्काउने, सताउने गर्थ्याे। त्यो हामीलाई मन परेन अनि खुकुरी प्रहार गरेको हाे,’ चक्रबहादुरले भनेको कुरा डिएसपी पाठकले सुनाए।

मृतक बद्रीबहादुरको पारिवारिक अवस्थाबारे कुनै जानकारी नखुलेको डिएसपी पाठकले बताए।

प्रकाशित मिति: : 2023-09-24 21:55:00

प्रतिकृया दिनुहोस्