डाेल्पा प्रशासनमा आइपुग्याे नाका पासकाे नमुना, डाेल्पामै छपाइ गरिने

डाेल्पाकाे उत्तरी क्षेत्रमा पर्ने माेरिम्ला र क्याटाे नाका हुँदै चिनियाँ व्यापारिक क्षेत्रमा प्रवेश गर्नका लागि आवश्यक पासकाे नमुना जिल्ला प्रशासन कार्यालय डाेल्पामा आइपुगेको छ।

बिहीबार गृह मन्त्रालयकाे अध्यागमन शाखाबाट पासकाे नमुना आइपुगेको जिल्ला प्रशासन कार्यालय डाेल्पाले जनाएको छ।

गृह मन्त्रालयबाट प्राप्त पास  छपाइका लागि बिहीबार जिल्लाका सराेकारवालासँग छलफल भएको प्रमुख जिल्ला अधिकारी भूमिश्वचर पाेख्रेलले बताए।

नाका प्रवेश पासकाे छपाइ सम्बन्धित स्थानीय तह आफैँले डाेल्पामै गर्ने निर्णय भएकाले गृह मन्त्रालयकाे निर्देशन आउनेबित्तिकै वितरण गरिने प्रजिअ पाेख्रेलले बताए।

पहिलो चरणमा डाेल्पाका लागि १५ सय प्रवेश पास छपाइने बताइएको छ।

त्यसैगरी पास लिनका लागि प्रति व्यक्ति दुई प्रति फाेटाे र एक प्रति नागरिकताकाे फाेटाेकपी चाहिने प्रशासनले जनाएको छ।

विगतका वर्षहरुमा चिनियाँ नाका प्रवेशका लागि पास नचाहिने भएपनि यस वर्षबाट पहिलोपटक प्रवेश पास अनिवार्य गरिएको हाे। नाका खुलेपछि किनमेलका लागि एकसाता लाग्ने उपल्लो डोल्पाबासीको भनाई छ।

उपल्लो डोल्पाका तीनवटा स्थानीय तहका बासीन्दालाई सदरमुकाम दुनै झरेर दैनिक उपभोग्य सामाग्री किनमेल गर्नुभन्दा दुई दिनमा पुग्न सकिने मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ।

निनियाँ नाका खुलेपछि उपल्लो डोल्पाका डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ् गाउँपालिकाकाका स्थानीयले नुन, चामल, तेल मोटरसाइकल लगायतका सामानहरु खरिद गर्न पाउनेछन्।

यस वर्ष नाका खुलेमा उपल्लो डोल्पादेखि नजिक पर्ने चीनको सिँगाचे प्रदेशमा पर्ने डोङ्बा काउण्टी नाका खुल्नेछ। उपल्लो डोल्पासम्म सडक सञ्जाल नहुँदा याक, चौँरी र घोडा खच्चडबाट दैनिक उपभोग्य सामाग्री ढुवानी गर्ने गरिन्छ।

विगत पाँच वर्षदेखि बन्द माेरिम्ला र क्याटाे नाका खुला गर्ने भन्दै चिनियाँ राजदुतावासले ३ असाेजमा नेपाली राजदूतावासलाई पत्र पठाएको थियाे।

प्रकाशित मिति: : 2023-09-28 16:14:00

प्रतिकृया दिनुहोस्