बाटो बिराउँदै फाल्गुनन्द र स्वर्णलक्ष्मी बचत ऋण सहकारी

झापाबाट मोरङ आएर सेवा केन्द्रमार्फत आर्थिक कारोवार गरिरहेको बचत ऋण सहकारी संस्थाहरूले बाटो बिराउन थालेका छन्।

मङ्गलबार उर्लाबारीका सञ्जय बाहेती आफूले जम्मा गरेको पैसा झिक्न उर्लाबारी–७ बरगाछीस्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र पुगे। बाहेतीको खातामा रहेको पैसा उनको  खातामा थिएन। त्यसपछि बाहेती कानुन उपचारको खोजीमा लागे।

बिहीबार बाहेती पुन: कार्यालय पुगेर स्टेटमेन्ट मागे। स्टेटमेन्टमा झुमा लिम्बूले ३ हजार ९ सय रुपैयाँ जम्मा गरिदिएको भेटियो। त्यसपछि बाहेती परिवारका नाममा रहेको सबै खाता परीक्षण गर्दा कुनै खातामा पनि नगद तुरुस्त भेटिएन। बाहेती परिवारले तीन वटा खातामा दैनिक बचत गर्दै आएको जनाएको छ।

सञ्जय बाहेतीले भने दैनिक बचत परिचालकले फटाई गरेको भन्दै उनलाई पक्राउ गरेर कार्यवाही थाल्ने आश्वासन सहकारीका ब्यवस्थापक दिलिप सुब्बाले दिए। तर,२४/२५ करोडको कारोवार गर्ने सहकारीले एकजना दैनिक परिचालकलाई कारबाही गरेर संस्था उम्कन नमिल्ने भनेपछि बिहीबार कानुनी प्रक्रिया अघि बढेन। सहकारीले भुक्तान पुर्जा जारी गरेको छ। तर, हस्ताक्षर क्लियर नगरीकन पैसा भुक्तान दिने गरेको सदस्यहरू बताउँछन्।

सफ्टवेयरबाट हिसाब राखिएको भएपनि सफ्टवेयर प्रयोगमा नआएको पीडितहरूको भनाई छ। कार्यालयमा सिसिटिभी राख्ने, एसी जडान गर्ने तर सफ्टवेयर प्रयोग गर्न नजान्ने कर्मचारी राख्दा हिसाब गोलमाल भइरहेको शेयर सदस्यहरू बताउँछन्।

एक सय रुपैयाँको शेयर बिक्री गर्ने र बचत सङ्कलन गर्ने बचत तथा ऋण सहकारी संस्थाका सेवा केन्द्रले सहकारीको ऐन, नियम, मापदण्ड र कार्यविधिलाई धोती लगाइदिएका छन्।

नाम स्वर्णलक्ष्मी कारोवार फलामभन्दा कडा

झापाको दमक–६ मा रहेको स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिटेडले समेत उर्लाबारी–७ को इटहरा रोडमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ। समुदायमा आधारित सहकारी संस्थामा १२ सयमाथि शेयर सदस्य भए भने ११ सदस्यभन्दा माथिको सञ्चालक समिति बन्ने गर्छ। पद प्राप्तिमा ठूलै लडाइँ चल्छ।

राजनीतिक दलका नेताले नेतृत्व चयनका लागि ठूलै मेहनत गर्नुपर्छ। तर, स्वर्णलक्ष्मीको सञ्चालक समिति सात सदस्यीय मात्र छ। जबकी सल्लाहकार समिति ५ सदस्यीय छ। ५ वटा सेवा केन्द्रबाट आर्थिक कारोवार गरिरहेको स्वर्णलक्ष्मी ४७ जनालाई रोजगार दिएको छ।

सहकारीले पछिल्लो वर्ष प्रकाशन गरेको प्रगति प्रतिवेदनको संस्थाको संक्षिप्त परिचयमा सदस्य संख्या उल्लेख छैन। गत वर्षको साधारण सभामा उपस्थित विवरणले संस्थाको सदस्य संख्या खुलेको देखिन्छ। गत वर्ष स्वर्णलक्ष्मीमा ७ हजार ४९० सदस्य रहेका थिए।

पेज १६ मा सदस्य संख्या ३५ सय थप गरी १२ हजार पुर्याउने लक्ष्य राखिएको छ। गत आवको असार मसान्त सम्ममा संस्थामा कति सदस्य थिए भन्ने कतै उल्लेख छैन। तथ्याङ्कअनुसार १२ हजारमा ३५ सय घटाउँदा हुने अङ्क अर्थात् ८ हजार ५०० सदस्य भएको बुझ्न सकिन्छ। अझ कुन सवा केन्द्रमा कति सदस्य छन् भन्ने कतै खुल्दैन।

अनेकका स्किमले भरिएको प्रतिवेदनमा पल्र्स रिपोर्ट छैन। सञ्चालकमा बस्ने ४९ प्रतिशत भन्दा बढीले कर्जा लिन पाइँदैन। सहकारी ऐनले यो व्यवस्था स्पष्ट किटानी गरेको छ। तर, यो विषयलाई समेत सहकारीका सञ्चालकले अवज्ञा गरेका गरेका छन्।

सात जना सञ्चालक रहेको सहकारीमा कोषाध्यक्ष चन्द्रमाया निरौला, सदस्य प्रेमकुमारी रिजाल, सदस्य अशोक सुबेदी, सदस्य राजेन्द्र श्रेष्ठले कर्जा लिएका छन्।

स्वर्णलक्ष्मीको २०८० को असार मसान्तसम्म १ अर्ब १४ करोड ४३ लाख ६१ हजार ९९८ रुपैयाँको वासलात छ। जसमध्ये २० करोड ६ लाख ९ हजार ८०१ रुपैयाँ बाह्य ऋण नै रहेको छ।

सामान्यतया सहकारीले कुल सम्पत्तिको ५ प्रतिशत भन्दा बढी बाह्य ऋण लिनु भनेको संस्थामा जोखिम सुरु हुनु मानिन्छ। संस्थाले १७ दशमलव ५३ प्रतिशत बाह्य ऋण लिएको छ।

संस्थाको लगानी हिसाब भने ४४ लाख ९१ हजार रुपैयाँ मात्रै छ। संस्थाको वासलात २०७९ असार मसान्तभन्दा ०८० मसान्तमा ६ करोड ६२ लाख ६८ हजार ४२० रुपैयाँले घटेको छ।

सहकारी संस्थाले स्किम देखाएर बचत गर्न पाउँदैनन। तर, स्वर्ण लक्ष्मीका अधिकांश प्रोडक्ट लोभ्याउने खालका छन्।

प्रकाशित मिति: : 2023-09-29 10:51:00

प्रतिकृया दिनुहोस्