नेपाल भारतसँग २३ रनले पराजित

चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग २३ रनले पराजित हुँदै नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ ।  

भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले १७९ रन मात्र बनाउन सक्यो ।

आज नेपालका लागि भाग्यले पनि साथ दिएन । नेपाल अन्तिम २ ओभरमा नराम्ररी चुटिएर ३९ रन दिन पुग्यो । ब्याटिङका क्रममा पनि कुशल भुर्तेल एउटा खराब निर्णयका कारण बाहिरिए । त्यही आउट नेपालका लागि हारको टर्निङ पोइन्ट भयो । 

ठूलो लक्ष्य पछ्याइरहेका नेपालका ब्याट्सम्यानहरू सुरूदेखि नै चर्को दबाबमा थिए । रन पछ्याउने क्रममा चुनौति लिदा लगातार विकेट ढलिरह्यो । गजब फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीले रवि विश्नोइको चौथो ओभर सकुशल झेल्न सकेको भए पनि आजको खेल नेपालको पक्षमा आउन सक्थ्यो।

१५औं ओभरको दोस्रो बलमा आउट हुनुअघि ऐरीले १५ बलमा ३२ रन बनाइसकेका थिए । 

हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो । 

प्रकाशित मिति: : 2023-10-03 10:12:00

प्रतिकृया दिनुहोस्