मेरिल्याण्ड राज्यमा अक्टोवर ५ लाई ‘दसैँ दिवस’ का रुपमा घोषणा गरिने

विष्णु शर्मा

मेरिल्याण्ड (बल्टिमोर)
File Photo
File Photo

मेरिल्याण्ड राज्यमा अक्टोवर ५ लाई नेपाली भाषीहरुको महान चाड ‘दसैँ दिवस’ का रुपमा घोषणा गरिने भएको छ।

सरकारी तहद्वारा दसैँलाई कानुनी रुपमा मान्यता दिने मेरिल्याण्ड पहिलो राज्य बनेको छ। यस दिन मेरिल्याण्ड राज्यको राजधानी एनियापोलिस मेरिल्याण्डा स्टेट हाउस अगाडि दिउँसाे ३ः४५ देखि ४ः३० सम्म एक समारोहका बीच दसैँ दिवस घोषणा गरिन लागेको मेरिल्याण्ड राज्यका स्टेट डेलिगेट डा. एच बी भण्डारीले जानकारी दिए।

सो समारोहमा नेपाली-अमेरिकी समुदायलाई विशेष आमन्त्रण गरिएको छ।

सोही उपलक्ष्यमा मेरिल्याण्डस्थित हिन्दू बुद्ध मन्दिर प्रांगणमा अक्टोवर ५ तारिख साँझ ५ बजे नेपालको नक्शासहित दिप प्रज्जलन गर्ने कार्यक्रम रहेको नेपाली अमेरिकन कल्चरल सेन्टरका महासचिव तरुण पौडेलले बताए।

मेरिल्याण्ड राज्यका गभर्नर विज मोरले एचबी ९६७ नम्बरको विधेयकमा हस्ताक्षर गरेपछि कानुनी रुपमा मेरिल्याण्ड राज्यमा अक्टोवर ५ दसैँ दिवसका रुपमा घोषणा गर्न लागिएको हो।

सरकारी रुपमा नेपाली संस्कृतिको महत्वलाई स्थापित गराउन नेपालीमूलका अमेरिकी, स्टेट डेलिगेट डा ह्रयारी भण्डारीले प्रमुख भूमिका गरेका थिए। डा. भण्डारीले संसदमा सो ९६७ नम्बरको विधेयक प्रस्ताव एक वर्ष अगाडि प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई १३५ जना (डेमोक्र्याट र रिपलिकन दुबै पार्टीका स्टेट सांसद) ले अनुमोदन गरेका थिए।

एक समारोहमा डा. भण्डारीले दसैँ नेपाली अमेरिकीहरुको समृद्ध सांस्कृतिक महत्वलाई परिचित गराउन सकिएकोमा गर्व लागेको र यसले अन्य राज्यलाई पनि उत्प्रेरित गर्न सघाउने बताए।

नेपाली समुदायको महान चाड दसैँको महत्वलाई उच्च सम्मान गरेको अनुभव गरेकाे मेरिल्याण्ड नेपाली अमेरिकीहरुले प्रतिक्रया दिएका छन्।

हिन्दू बुद्ध मन्दिरमा दसैँ दिवसमा गरिने दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन सबै नेपाली अमेरिकी समुदायलाई निम्तो छ।

प्रकाशित मिति: : 2023-10-03 18:25:00

प्रतिकृया दिनुहोस्