अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीलाई अक्टोबर ५ मै दशैं

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको मेरिल्याण्ड राज्यका नेपालीका लागि भोलि अक्टोबर ५ मै दशै आउँदैछ। मेरिल्याण्ड राज्यमा हरेक वर्ष अक्टोबर ५ मा दशै डे मनाउने विधेयक पारित भएसँगै मेरिल्याण्डका नेपालीका लागि यो वर्षदेखि अक्टोबर ५ मै दशैं आउँन लागेको हो।

मेरिल्याण्ड राज्यका एक मात्र नेपाली विधायक डा. ह्यारी भण्डारीले संसदको तल्लो सदनमा दर्ता गरेको विधेयक नम्बर ९६७ मार्फत् मेरिल्याण्डमा दशैले मान्यता पाएको हो। विधेयकमा दशैलाई नेपालमा उत्पति भएको नेपालीहरूको एक सांस्कृतिक चाड भनिएको छ। दशैले कानून बनाएरै अमेरिकामा मान्यता पाएको मेरिल्याण्ड पहिलो र एक मात्र राज्य हो।

दशैले मेरिल्या्ण्डमा मान्यता पाएको अवसरमा मेरिल्याण्डमा दुईवटा औपचारिक कार्यक्रमको आयोजना गरिदैछ। दशै विधेयककै प्रस्तावक विधायक डा. ह्यारी भण्डारीको पहलमा दिउँसो ३:४५ बजे मेरिल्याण्ड स्टेट हाउसमा एक विशेष कार्यक्रमको आयोजना गरिने छ। कार्यक्रममा मेरिल्याण्डका गभर्नर वेस मुरले दशै डे प्रोक्लेमेसनमा हस्ताक्षर गर्नेछन्।

यसैगरी साँंझ ५ बजे मेरिल्याण्डकै बाल्टिमोरमा रहेको नेपाली अमेरिकी सांस्कृतिक केन्द्रमा दशै मनाइनेछ।

मेरिल्याण्ड डिस्ट्रिक्ट ८ का विधायक डा. ह्यारी भण्डारीले एक भिडियो वक्तव्य जारी गर्दै कार्यक्रममा सहभागी हुन सबै नेपालीलाई निम्ता दिएका छन्। उनले अक्टोबर ५ लाई भव्यताका साथ दशै डेका रूपमा मनाउन आग्रह गर्दै यसलाई नेपाली समुदायको एकता, भाइचारा र अमेरिकी विविधताको उत्सवका रूपमा मनाउन आग्रह गरेका छन्।

मेरिल्याण्डमा दशैं डे हरेक वर्षको अक्टोबर ५ मा मनाउने भनिएकाले यो दिन दशैंकै दिन भने पर्दैन। तिथि अनुसार दशैं यता उता पर्ने भएकाले यो वर्ष मेरिल्याण्डको दशै सोह्र श्रद्धामै आएको छ। 

दशैको टीकाकै दिनमा दशै परेको भए सुनमा सुगन्ध हुन थियो तर तिथिका आधारमा मनाइने दशै हरेक वर्ष फरक दिन आउने भएकाले त्यो सम्भव भएन। यो एक प्राविधिक विषय हो। मूल कुरा अमेरिकामा नेपालीहरूको सांस्कृतिक चाडका रूपमा दशैले मान्यता पाउँनु हो।

यही तथ्यलाई ध्यानमा राख्दा दशै डेलाई मेरिल्याण्डका नेपालीले एक उत्सवका रूपमा मनाउने छन्। यद्यपि, परदेशको दशै घरदेशको जस्तो रौनक लिएर आउँदैन। 

 

प्रकाशित मिति: : 2023-10-05 08:44:00

प्रतिकृया दिनुहोस्