अभिभावकसँग बसेर निर्णय सच्याउँदैछाैं : विव्यस अध्यक्ष राेकाया

आइतबार जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका १२ छात्रा विद्यार्थीलाई स्कुलकाे निर्देशन नमानेकाे भन्दै निष्कासन गरेकाे थियाे। 

निर्णय व्यवस्थापन समितिकाे राय विनै गरिएकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण राेकायाले बताए। 

'हिजाे सबै निर्णय आवेगमा भएकाे हुँदा हामीले उपस्थिति जनाएनाैं,' उनले भने, 'कम्तिमा एक दिन ढिलाे भयाे भने परिस्थिति केही शान्त हाेला भन्ने लागेकाे थियाे। माहोल शान्त हुँदैछ पनि।'

जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई विद्यालयले निकालेकाे थियाे।

अध्यक्ष राेकायाका अनुसार साेमबार निष्कासनमा परेका विद्यार्थी, उनीहरुका अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच बैठक बसेर आइतबारकाे निर्णय सच्याइनेछ।

'निष्कासनमा परेका छात्राहरु पुन: स्कुलमा पढ्न पाउने व्यवस्था मिलाइनेछ,' उनले भने, 'अलि आवेगमा निर्णय भयाे। याे सबै सच्याउनेछाैं र आगामी दिनमा अझ संयम हुनेछाैं।'

अन्तर विद्यालय स्तरीय छात्र र छात्रा दुबैमा सहभागिता जनाएकाे चन्दननाथ माध्यमिक विद्यालयले असाेज १७ गते भैरव माध्यमिक विद्यालयका छात्रहरु विरुद्धकाे सेमी फाइनल खेलकाे थियाे। उक्त खेलमा विवाद भएपछि स्कुलले सहभागिता नजनाउने भनी खेलाडीहरु मैदान छाेडेर हिडेका थिए। 

पछि विद्यालयले विज्ञप्ति निकालेर एन्फाबाट अन्यायमा पारिएकाे भन्दै छात्राहरु समेतलाई फाइनले खेलमा नपठाउने निर्णय गरेकाे थियाे। विद्यालयकाे निर्णय विपरीत छात्रा विद्यार्थीहरुले फाइनल खेलेपछि निष्कासन गरिएकाे थियाे।

तर छात्राहरु भने त्यस अगाडि नै विना विवाद फाइनलमा पुगिसकेका थिए। फाइनलमा पुगेकाे हुनाले पनि खेल्ने चाहना बढेकाे सहभागी छात्रा खेलाडीकाे सामुहिक स्वर थियाे।

याे विषयमा बिएल नेपाली सेवाले समाचार प्रकाशन गरेपछि सामाजिक संजालमा विद्यालयकाे निर्णय विरुद्ध व्यापक विराेध भएकाे थियाे। यस विषयमा विभिन्न विद्यार्थी संगठनले निर्णयकाे विराेध गर्दै आन्दोलनकाे चेतावनी दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकलाई कार्यालयमा बाेलाएर छलफल गराई निर्णय सच्याउन अनुराेध गर्ने तयारी थालेकाे शिक्षा विकास तथा समन्वय एकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताए। 

'उहाँहरुसँग फाेनमा कुरा पनि भएकाे छ। सकारात्मक हुनुहुन्छ,' उनले भने, 'मैले चिठी पनि काटिसकेकाे छ। सानाे गल्तीका कारण विद्यार्थीकाे भविष्य बिगार्न नहुने विषयमा उहाँहरु सचेत हुनुहुन्छ।'

निष्कासन गरिएका विद्यार्थीलाई स्कुलमा फर्काउने विषयमा सकारात्मक तवरले छलफल चलिरहेकाे चन्दननाथ नगरपालिका -४ का वडा अध्यक्ष नवराज देवकोटाले बताए।

'विव्यस, अविभावकहरु सहितको बैठकमा हामी पनि जाँदैछाैं,' उनले भने, 'हामीले अनाैपचारिक रुपमा चलाएकाे छलफल निकै सकारात्मक रुपमा अगाडि बढेकाे छ।'


अन्डर-१६ फुटबल: फाइनल खेलेकाे भन्दै चन्दननाथका छात्राहरु निष्कासित

प्रकाशित मिति: : 2023-10-09 11:19:00

प्रतिकृया दिनुहोस्