इजरायल-हमास युद्धले बाइडेनसामु उभ्याएका दुई प्रश्न

प्रदीप भट्टराई

वासिङ्टन डीसी

गाजापट्टीमा इजरायल र हमासबीच जारी युद्धले विश्वको ध्यान आफूतिर तानेको छ । युद्ध सुरू भएयता अमेरिकी सञ्चारमाध्यममा लाइभ स्ट्रिमिङ चलिरहेको छ । बाँकि सबै समाचार छायाँमा पार्ने यो युद्धले अमेरिकाको चासो र चिन्ता ह्वात्तै बढाएको छ ।

यो युद्धको अघिल्लो मोर्चामा इजरायल लडिरहेको भए पनि पछिल्लो मोर्चामा अमेरिका तैनाथ छ । अमेरिकाले ठूलो मात्रामा सैन्य जहाज, हातहतियार र सैनिकहरू इजरायलमा ओसारिसकेको छ ।

अमेरिकामा आन्तरिक मुद्दाहरूमा मतमतान्तर हुने भए पनि वाह्य मुद्दाहरूमा लगभग एक मत नै हुन्छ । त्यसमा पनि अमेरिका सामेल हुने युद्धको विपक्षमा त विरलै अमेरिकी हुन्छन्। अमेरिकीहरूको नशामा नशामा युद्ध छ ।

अमेरिकाको आनतरिक राजनीतिमा युद्धको विपक्षमा रहनेले चुनाव जित्ने सम्भावना लगभग हुदैन नै भने पनि हुन्छ । युद्धको अर्को पक्ष भनेको अमेरिकी हातहतियारको प्रयोग र व्यापार पनि हो । यस्तै युद्धहरूमा अमेरिकी हातहतियारको वास्तविक परीक्षण हुनेगर्छ ।

अमेरिकी राष्ट्रपति बाइडेन इजरायलको पक्षमा सत्तिसालझै उभिएका छन् । उनलाई यसरी उभ्याउन डेमोक्रेट्सको त साथ छ नै, रिपब्लिकनहरू त झन एक कदम अगाडि बढेर समर्थन गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले अप्रत्यासित रूपमा इजरायल-हमास युद्धको सामना गर्नुपरेको छ । हमासले धेरै अमेरिकी बन्धक बनाइदियो र युद्ध लम्बियो भने   बूढो शरीर लिएर अर्को वर्ष चुनावमा जानलागेका उनको मुस्किल अरू बढ्ने छ।

यो युद्धमा हमासले अमेरिकी नागरिकसहित सयौं मानिस गाजापट्टीमा बन्धक बनाएको छ । तर, त्यही गाजापट्टीमाथि इजरायलले लगातार बमको वर्षा गराइरहेको छ । यसो गर्दा हमास मात्र मारिदैनन्, ती बन्धकहरू पनि मारिन्छन् । त्यसैले इजरायललाई त्यतिबढी आक्रमण नहुन सम्झाउनुपर्ने जस्तो परिस्थिति सिर्जना भएको छ । 

यो यथार्थ हो । तर, अमेरिकामा यस्तो भन्ने छुट कसैलाई पनि हुदैन, छैन। त्यसो भन्यो भने आतंकवादीलाई समर्थन गरेको संगीन आरोप लाग्न सक्छ । र, त्यसको परिणाम गम्भीर पनि हुन सक्छ भनेर मानिसहरू डराउँछन् । यद्यपि, अमेरिका दोहोरो संकटमा  छ, यो भने सत्य हो । एकातिर अमेरिकीहरू बन्धक हुने खतरा बढेको छ भने अर्कोतिरयो युद्ध लम्बिन सक्ने सम्भावना पनि बढेको छ । यी दुबै अमेरिकाका लागि प्रत्युत्पादक छन् ।

यो युद्धमा अहिलेसम्म कम्तिमा पनि नौ अमेरिकी नागरिक मारिएको पुष्टि भैसकेको छ । तर, यो संखया धेरै गुना बढी हुने आँकलन गरिएको छ । र, हमासले ठूलो संख्यामा अमेरिकीलाई बन्धक बनाएको अनुमान गरिदैछ ।

सन् २०२४ मा दोस्रो कार्यकालका लागि चुनावमा जाने तयारीमा रहेका राष्ट्रपति बाइडेन सामु इजरायल -हमास युद्ध केही नयाँ चुनौति ठड्याइदिएको छ । ती चुनौतिका पहाडलाई कसरी अवसरको मैदान बनाउने हो?, उनका सामु बडेमाको प्रश्न उभिएको छ । 

प्रकाशित मिति: : 2023-10-10 01:08:00

प्रतिकृया दिनुहोस्