इजरायल र गाजापट्टिमा ढलिरहेका छन् मान्छेका शिर, लाश गन्दैछ संसार

प्रदीप भट्टराई

वासिङ्टन डीसी

इजरायल–हमास युद्ध जारी छ। यो युद्धले विश्वलाई लगभग दुई चिरामा विभाजित गरेको छ। विश्वको ठूलो हिस्सा इजरायलको पक्षमा छ भने सानो हिस्सा नै सही,विश्वको केही हिस्सा  हमासको पक्षमा पनि रहेको छ। खासगरी अमेरिकीलगायतका पश्चिमी राष्ट्रहरू इजरायलको पक्षमा सत्तिसालझै उभिएका छन् भने धेरैजसो मुस्लिम राष्ट्रहरू हमासको समर्थन गरिरहेका छन्। इरान, सिरियाजस्ता राष्ट्र त खुलेरै हमासको पक्षमा लागेका छन्।

अहिले संसारका धेरैजसो मुलुकका सरकारको काम आफ्नो देशका कति मानिस गाजापट्टि या इजरायलमा मारिए, कति हराए र कति हमासले बन्धक बनाएको छ, त्यसैको गणना गर्नेजस्तो मात्र भैरहेको छ। हरेक देशका सरकार युद्धमा फसेका आफ्ना नागरिकको उद्धार गर्न ठूलो जनदवावको सामना गरिरहेका छन्।

पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म इजरायल र गाजामा गरेर दुइहजार पाँचसय मानिस मारिएका छन्। मारिनेमा एकहजार दुईसय इजरायली र त्यतिकै संख्यामा प्यालेस्टाइनी रहेको बताइएकोछ। मारिने अमेरिकीको संख्या २२ पुगेको छ भने हमासले गतिलै संख्यामा बन्धक बनाएको आँकलन पनि गरिएको छ। 

कुन देशका कति मारिए ?
विश्वका २३ देशका माानिस मारिएको/हराएको प्रारम्भिक आँकडा बाहिरिएको छ। 
अमेरिका  २२    थाइल्याण्ड १८    बेलायत १७ 
नेपाल १०  फ्रान्स ८   अर्जेन्टिना ७

तर, गाजापट्टि र इजरायलको अवस्था यस्तो छ कि त्यहाँ गएर फसेका आफ्ना नागरिकलाई उद्धार गर्न सोचेजति सहज छैन। इजरायलले हमासको कब्जाबाट बाहिर निकालेका मानिसलाई पनि इजरायलबाट सजिलै बाहिर पठाउन सकिएको छैन।

इजरायलको रणनीति जति मानिस मरे पनि आक्रमण नरोक्ने र हमासलाई ठेगान लगाएरै छोड्ने जस्तो देखिन्छ। उसलाई कम मानिसको हताहत होस् र हमासले बन्धक बनाएका मानिसहरूको ज्यानको पनि ख्याल गरियोस् भनेर सम्झाउनेतिर कोही पनि लागेजस्तो देखिदैन। 

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई इजरायलको पक्षमा जोडतोडले लाग्दा दबाब बढेको छ। यो दबाब बढाउन अमेरिकी राजनीतिमा शक्तिशाली रहेका यहुदी फ्याक्टरले काम गरेको छ। अर्कोतिर, रिपब्लिकनहरू पनि यो मुद्दा बाइडेनको हातबाट उछिट्याएर चुनावी मुद्दा बनाउन चाहिरहेका छन्। रिपब्लिकनको यो चाल बुनेका बाइडेन यो मुद्दा कुनै पनि हालतमा आफ्नो हातबाट बाहिर जान नदिन प्रयत्न गरिरहेका छन्।

२०२४ को राष्ट्रपति चुनावमा इजरायल–हमास मुद्दा कुनै न कुनै रूपमा चुनावी मुद्दा हुने निश्चितप्राय: छ।

यसैबीच टर्कीका राष्ट्रपतिले मध्यस्थता गर्न आफू तयार रहेको बताएका छन्। उनले युद्धग्रस्त क्षेत्रमा सहयोग पनि पठाएको बताएका छन्। उता, हमासप्रति नरम रहेको साउदी अरवका युवराजले हमासलाई सम्मयता राख्न सम्झाएको समाचार बाहिर आएको छ। 

प्रकाशित मिति: : 2023-10-12 21:29:00

प्रतिकृया दिनुहोस्