रेशम चौधरीको आममाफीविरुद्धकाे रिटमाथि सुनुवाइ स्थगित

File Photo
File Photo

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको आममाफीविरुद्ध परेकाे रिटमाथिकाे सुनावाइ स्थगित भएकाे छ।

सर्वोच्च अदालतमा बिहीबारका लागि तोकिएको रिट निवेदनको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो।

गणतन्त्र दिवसका अवसरमा कैद मिनाहाका लागि सरकारले सिफारिस गरेका चौधरीसहितका कैदीहरूलाई राष्ट्रपति पाैडेलले आममाफी दिएपछि आममाफीविरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहाेराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन्।

यसअघि जेठ २३ मा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो।

टीकापुर घटनामा दोषी ठहर भएका चौधरीले दिएको पुनरावेदनमा सर्वोच्च अदालतले उनलाई जन्मकैदको फैसला हुने उच्च अदालतको फैसला सरकारले आममाफी दिनुभन्दा केही साताअघि मात्रै सदर गरेको थियो। चौधरीले गएको जेठ १५ गते गणतन्त्र दिवसका दिन आममाफी पाएका थिए।

चौधरीलाको आममाफीबारे राजनीतिक वृत्तमा दुईथरि तर्क छन्– एकथरीले अनुचित भन्दै सरकारी कदमको आलोचना गरेका छन् भने अर्कोथरीले राजनीतिक मुद्दालाई सोहीअनुसार हेरिनुपर्ने बताइरहेका छन्। 

एक हप्ताअघि यस्तै प्रकृतिको रिटमा सर्वोच्चले राष्ट्रपतिबाट पाएको आममाफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः कैदमा पठाएपछि टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई रिगल नजिरको डरले तर्साइरहेकाे छ।

प्रकाशित मिति: : 2023-11-09 11:27:00

प्रतिकृया दिनुहोस्