मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको बताएकी छन्।

दाङको नारायणपुरस्थित मानव कल्याण (सेवा घर) को आज निरीक्षण गर्दै उनले ‘खोसेर खाए पेट भरिन्न, बाँडेर खाए भोकै भइन्न’ भन्ने कुरालाई आत्मसात् गरेर आश्रमको व्यवस्थापन गरिएको बताइन्।

सडकमा रहेका मानसिकरुपमा विक्षिप्त मानिसलाई स्याहार गरेर परिवारसँग पुनर्मिलन गराउने कार्य सबैभन्दा ठूलो धर्म भएको मन्त्री शर्माले जनाइन्।

बेवारिस मानवलाई संरक्षण गरेकामा संस्थालाई धन्यवाद दिँदै उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर काम गर्न र सहयोगको लागि थप योजना तयार गर्न संस्थाका पदाधिकारीलाई आग्रह गरिन्।

सेवा घरमा आश्रय लिइरहेकाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य, खाना र लगाउने कपडाको आवश्यकता पर्ने जनाउँदै मन्त्री शर्माले सरकारको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताइन्।

‘अन्य स्थानमा रहेका सेवा घरले कसरी काम गरेका छन्, त्यसबारे अध्ययन÷अवलोकन गरी सेवा घरलाई थप व्यवस्थित बनाउन आवश्यक खाका तयार गर्नुहोस्’, उनले भने।

प्रकाशित मिति: : 2023-11-17 17:31:00

प्रतिकृया दिनुहोस्