सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रु एक अर्ब ४१ करोड निकासा गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सरकारी निर्णयका आधारमा जाजरकोट, रुकुम पश्चिम, बझाङ बाजुरा र सल्ल्यान जिल्लाका लागि उक्त रकम निकासा गरिएको हो।
त्यसमध्ये सबैभन्दा बढी जाजरकोट र रुकुम पश्चिमका लागि रु ५०/५० करोड निकासा भएको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बझाङका लागि रु २५ करोड, बाजुराका लागि रु १४ करोड र सल्यानका लागि रु दुई करोड रकम निकासा भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको गत कात्तिक २६ को निर्णयबाट भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण कार्यविधि २०८० स्वीकृत भएको थियो।
उक्त कार्यविधिले निर्दिष्ट गरेको भूकम्प प्रभावित लाभग्राहीको अस्थायी आवास निर्माणको पहिलो किस्ता दिने प्रयोजनका लागि उक्त रकम निकासा गरिएको खड्काले बताए।
उक्त रकम स्थानीय तहमार्फत लाभग्राही पहिचान गरी सम्बन्धित पालिकामार्फत जानेछ। प्राधिकरणले उल्लिखित कार्यविधि तथा प्रचलित कानुनले तोकेअनुसार लेखा राख्ने, लेखा परीक्षण गर्ने र गराउने व्यवस्था गर्न आदेशानुसार अनुरोध पनि गरेको छ।