काठमाडौं उपत्यकाका व्यस्त सडकमा ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँच अझै जारी छ। अझ स्पिड जाँचका नाममा कुदिरहेको सवारी अगाडी झाँडीबाट फुत्त बाघले झम्टिए झैं ट्राफिक प्रहरीले झम्टिँदा दुर्घटनासमेत हुने गरेको छ।
ट्राफिक प्रहरीको लुकीछिपी चेकजाँचकै क्रममा ०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएको थियो। दुर्घटनापछि चर्को आलोचना खेपेको प्रहरीले फेरि सोही किसिमको चेकजाँच थालेको छ।
विशेषगरी भक्तपुर क्षेत्र वरपर यस्तो अवैज्ञानिक एव अव्यवहारिक ट्राफिक जाँचका कारण सवारी दुर्घटनाको संख्या दिनानुदिन बढ्दो छ। यस्तै किसिमको स्पिड लेजर गनमार्फत चेकजाँच शनिबार काठमाडौंको ग्वार्को-बालकुमारी क्षेत्रमा देखिएको थियो ।
साँघुरो सडक, अस्तव्यस्त सवारी, अव्यवस्थित ट्राफिक व्यवस्थापन र सवारी चालकबीचको चेतना अभाव यसअघि पनि दुर्घटनाका मुख्य कारण मानिँदै आएका थिए। तर, पछिल्लो समय ट्राफिक प्रहरीको लुकिछिपी चेकजाँचले थप दुर्घटना निम्त्याएको छ।
‘ट्राफिक प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ तर लुकेर स्पिड जाँच गर्ने सिलसिलामा दुर्घटना निम्ताउन पाइँदैन। अव्यवहारिक र अवैज्ञानिक चेकजाँच गर्नु भएन्,’ काठमाडौं जोरपाटीका दिनेश बाँस्कोटाले भने।
ओखलढुंगाका कोइरालाले ज्यान गुमाएको घटनापछि जनस्तरबाट उठेको चर्को आलोचना र दबाबका कारण उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय भक्तपुरले छुट्टाछुट्टै दुईवटा छानबिन समिति गठन गर्नुपर्यो।
अस्थायी रूपमा ट्राफिक प्रहरीले लुकिछिपी चेकजाँच रोकेको थियो। तर, नेपाली व्यवस्थामा नीतिगत सुधार नहुनु, कानुनको कमजोरी र जिम्मेवार निकायको संवेदनहीनताले गर्दा अवस्था फेरि पुरानै शैलीमा फर्किएको छ।
सडकमा जुनसुकै बेला र जुनसुकै ठाउँमा ट्राफिकको चेकजाँच, त्यो पनि गुपचुप तरिकाले हुनु भनेको ट्राफिक सुरक्षाको नाममा दुर्घटना निम्त्याउनु रहेको विज्ञहरू बताउँछन्।
नेपालमा विश्व स्मार्ट ट्राफिक प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमा अघि बढिसकेको छ। तर नेपालमा अझै पनि ट्राफिक चेकिङ प्रक्रिया परम्परागत शैलीमै रहेको छ।