निषेधाज्ञापछि माइतीघर सुनसान (तस्बिरहरू)

सधैँजसाे धर्ना, प्रदर्शन, आन्दोलन भइरहने काठमाडाैँकाे माइतीघर मण्डला यतिबेला सुनसान बनेकाे छ।

मंसिर ७ गते हुने दुर्गा प्रसाईं र महेश बस्नेत समूहकाे आन्दोलनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेपछि  माइतीघर सुनसान बनेकाे हाे।

अहिले माइतीघरमा निषेधित क्षेत्र लेखिएको ब्यानर टाँसिएकाे छ भने बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले साेमबार पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको थियाे। 

प्रशासनले ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको हाे।

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले प्रशासनले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको हाे। 

प्रकाशित मिति: : 2023-11-21 16:34:00

प्रतिकृया दिनुहोस्