जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंको समूहलाई तीनकुनेमा प्रदर्शन गर्ने अनुमति नदिएको जनाएकाे छ।
सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको बताएका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी भोलिदेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पु-याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनवाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।’
सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने सुनिश्चितता सहित लिखित रुपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने प्रशासनले उल्लेख गरेकाे छ।
शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने भन्दै कुनै पनि प्रकारका गैरकानूनी गतिविधिहरूमा सहभागिता नजनाउन काठमाडौँ प्रशासनले जानकारी गरेकाे छ।