जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भरतपुर महानगरपालिका–२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका–१९ कि ३५ वर्षीया सरस्वती गुरुङको दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज भरतपुर महानगरपालिका–१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो।
उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो।
सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार निजको श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएकी छन्। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै बिहीबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडी सवार रणबहादुर बानियाँको मृत्यु भएको हो।
गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र–०६–०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा आज मृत्यु भएको हो।
मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन्। उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।