पुसको कठ्याङ्गिदो जाडोमा न्यानो कम्बल पाएपछि धार्मिक नगरी मटिहानीका साधु र मोल्वीले राहत महसुस गरेका छन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठका साधु, पीरबाबा मजारका फकिर र मस्जिदका मोल्वीले न्यानो कम्बल पाएपछि राहत महसुस गरेका हुन्। साधु, फकिर र मोल्वीलाई मटिहानी नगर कार्यपालिकाको कार्यालयले कम्बल वितरण गरेको हो।
'हामीले दुई दिनदेखि साधु, फकिर र मोल्वी (इस्लाम धर्म गुरु) को खोजी गर्दै कम्बल दिन थालेका छौँ, मङ्गलबारदेखि आजसम्म ६० जनालाई कम्बल दिइएको छ', मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले भने।
कम्बल पाउनेमा मठका ४० साधु, मजारका फकिर र नगरक्षेत्रका विभिन्न बस्तीका २० मोल्वी रहेका छन्।
मठमन्दिर, मस्जिद (इस्लाम परम्पराको नमाज पढ्ने र प्रार्थना गरिने घर) र पीरबाबाको मजारले प्रसिद्धि पाएको मटिहानी नगरक्षेत्रका मठ–मन्दिर, मस्जिद तथा मजारमा रहेका साधु, मोल्वी र फकिरलाई न्यानो कम्बल वितरण गरिएको हो।
मठमन्दिर, मस्जिद र मजारमा रहने ६० साधुले जाडोमा न्यानो कम्बल पाएपछि राहत महसुस गरेका छन्।
'हामी साधुको भर नै श्रद्धालुजन हुन्, जाडोमा कम्बल पायौँ, अब यसैले जाडो कट्ला', लक्ष्मीनारायण मन्दिरमा रहेका साधु शिवशरण दास वैष्णवले भने।
यसैगरी पीरबाबा मजारका फकिर हशन अहमदले पनि जाडोमा नगरपालिकाले गरेको कम्बल सहयोगले राहत मिलेको बताए।
यसैगरी ३५ वर्षीय मोल्वी तहसीन रेजाले बढ्दो जाडोबीच पाएको कम्बलले निकै राहत मिलेको प्रतिक्रिया दिए।
मटिहानीमा मुलुककै प्रसिद्ध र जेठो लक्ष्मीनारायण मठ तथा हिन्दू परम्पराका आराध्यदेव भगवान लक्ष्मीनारायणको मन्दिर छ।
यहाँको यो मठ मुलुकभरिकै मठहरुको नायक मानिन्छ। त्यसैले अन्य मठका मुख्य साधु महन्थ र यहाँका भने ‘मानमहन्थ’ भनिन्छन्। मठको प्रशासनिक प्रमुखको भूमिका ‘मानमहन्थ’ बाटै हुने व्यवस्था छ।
मटिहानी नगरको खोजी र यसलाई आधुनिक तवरले बसोबास गराउने हिन्दू परम्पराका साधु तस्मैयाबाबा र इस्लाम परम्पराका सुफीसन्त पीरबाबा मानिन्छन्। यहाँ दुवै साधुको सम्झना र सम्मान गर्ने थिति नै बसेको मटिहानीबासी बताउँछन्।
'मटिहानी तस्मैयाबाबा र पीरबाबाले बसाउनुभएको नगर मानिन्छ, त्यसैले यहाँका बासिन्दा दुवै साधुप्रति उच्च सम्मान व्यक्त गर्छन्' नगरप्रमुख मण्डल भन्छन्, 'उहाँहरुकै कृपा र आशिर्वादले यहाँ हिन्दू र इस्लाम सधैं एकअर्काको सहयोगी भई मिलेर बस्दै आएका छन्।'
आफ्नो नगरभित्रका हिन्दू परम्पराका अनुष्ठानमा इस्लाम धर्मावलम्बी र इस्लाम परम्पराका अनुष्ठानमा हिन्दू धर्मावलम्बी सराबरी देखिनु उनै तस्मैयाबाबा र पीरबाबाको आशिर्वाद मानिएको मण्डल बताउँछन्।
लक्ष्मीनारायण मठ, लक्ष्मीनारायण मन्दिर, लक्ष्मीसागर र तस्मैयाबाबाको अखडा यहाँ हिन्दू परम्पराका र पीरबाबा मजार इस्लाम परम्पराका पूज्यस्थल मानिन्छन्।
लक्ष्मीसागर रामायणकालमा रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ रहेको विश्वास गरिन्छ। इस्लाम परम्पराका सुफीसन्त पीरबाबाको मजारमा ‘मन्नत’ (कुनै पिरमर्काको पुकारा गर्न, वरदान) माग्न हिन्दू, मुस्लिम सराबरी देखिन्छन्।
'यहाँको माटो र यसको सुगन्ध नै सद्भावपूर्ण छ, यहाँ (मटिहानी) टेकेपछि कसैको मनमा रहेको धार्मिक उन्माद पनि शीतल हुन्छ', पीरबाबा मजारका फकिर हशन अहमद भन्छन्, 'यो पीरबाबा र तस्मैयाबाबाको प्रताप हो।'
मटिहानी नगर कार्यपालिकाले वर्षेनीजसो मठमन्दिर र मजारका साधुसन्तलाई न्यूनतम मानवीय आवश्यकताका कुराको ख्याल राख्ने गरेको यहाँका साधुसन्तको प्रतिक्रिया छ।
आफ्नो नगरको मुख्य परिचय नै धार्मिक नगरीको रहेको हुँदा यो परिचय जोगाउन अहोरात्र लागि रहेका साधुसन्त मटिहानीवासीका आदर्श रहँदै आएका नगरप्रमुख मण्डलको भनाइ छ।
'यहाँका साधुसन्तलाई केही गर्न पाउनु अवसर मानिन्छ, हामी त्यो अवसरको यथासक्य उपयोग गर्ने प्रयत्न गर्छौ', मण्डलले भने।