हेलिकप्टर मगाउने ‘कागज’ खोज्दा खोज्दै सासै गयो सुत्केरी अंशुको

कमल विक

काठमाडाैं

हुम्लाको ताँजाकोट गाउँपालिका– ५ की २३ वर्षीया अंशु बुढा सोमबार बिहान अचानक बिरामी परिन्। १३ दिने सुत्केरीसमेत रहेकी उनलाई बिहान ४ बजेतिर सास फेर्न गाह्रो भइरहेको थियो। परिवारले तातोपानी खुवायो। तरपनि निको भएन। बिस्तारै बिस्तारै रक्तस्राव पनि हुन थाल्यो।

१३ दिन अगाडि मदना स्वास्थ्य चौकीमा बच्चा जन्माएर सकुशल घर फर्किएकी उनमा त्यसअगाडि स्वास्थयमा कुनै समस्या थिएन। अचानक बिरामी परेपछि परिवार आत्तियो। श्रीमान रोजगारीको सिलसिलामा भारतमा थिए। ससुरासहित परिवारले उनलाई बिहान ६ बजे नै पुनः मदना स्वास्थ्य चौकी पुर्‍यो।

मदना स्वास्थ्य चौकीले यहाँ उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल लैजान सिफारिस गर्‍यो। हुम्ला सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पताल धेरै टाढा रहेकोले परिवारले उनलाई बाजुरास्थित कोल्टी स्वास्थ्य केन्द्र लैजाने निर्णय गर्‍यो। कोल्टीसम्म पुग्नका लागि पनि अंशुको परिवारले एम्बुलेन्स पाउन सकेन। त्यसपछि निजी गाडी खोजेर उनलाई कोल्टी स्वास्थ्य चौकी पुर्‍यायो।

कोल्टी स्वास्थ्य चौकी पुग्दा दिउँसोको १ बजेको थियो। त्यतिबेलासम्म उनको स्वास्थ्य अवस्था झन बढी बिग्रिएको थियो। कोल्टी स्वास्थ्य केन्द्रले अंशुको अवस्था जटिल हुँदै गएकाले यहाँ उपचार सम्भव नरहेको भन्दै तत्काल नेपालगञ्ज वा सुर्खेत लैजानु भनि सिफारिस गर्‍यो।

परिवार अंशुलाई छिटो अन्य सहरमा पुर्‍याउने माध्यमको खोजीमा लाग्यो।

उनलाई तत्काल अन्य सहरमा लैजान सक्ने माध्यम हेलिकप्टरमात्र थियो। तर, समयमा हेलिकप्टरको व्यवस्था हुन नसक्दा छटपटाउँदा छटपटाउँदै अंशुले कोल्टी अस्पतालमा प्राण त्यागिन्।

०००

सरकारले दुर्गम क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरीको उद्दारका लागि निःशुल्क हेलिकप्टर उपलब्ध गराउने व्यवस्था मिलाएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पर्ने यो कार्यक्रम अंशुजस्तै दुर्गममा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको उद्दारको लागि हो। तर, उचित समन्वयको अभावका कारण अंशुलाई लिन हेलिकप्टर कोल्टी पुगेन।

अंशुको अवस्था बिहानदेखि नै नाजुक बन्दै गइरहेको थियो। सुरुमा स्वासप्रस्वासमा समस्या देखिएकी उनमा पछि रक्तस्राव पनि हुन थाल्यो। धेरै मात्रामा रक्तस्राव हुनु जोखिमपूर्ण हो।

कोल्टी स्वास्थ्य केन्द्रले पनि अन्तै लैजानुपर्छ भनेपछि बल्ल अंशुको परिवारले जनप्रतिनिधि सम्झियो। परिवारले दिउँसो २ बजे वडा अध्यक्ष मंगल नेपाली र गाउँपालिका अध्यक्ष लालकेश जैसीलाई सम्पर्क गर्‍यो। जनप्रतिनिधिहरु अंशुको स्वास्थ्य अवस्थाप्रति गम्भीर रुपले लागेनन्। ७ बजेमात्र हेलिकप्टरको व्यवस्था गरिदिन भन्दै जिल्ला प्रशासन हुम्लालाई गुहारे।

चाहेको भए गाउँपालिका अध्यक्षले दिउँसो नै प्रशासनलाई खबर गरेर केही मिनेटमै हेलिकप्टर बोलाउन सक्थे। तर, उनी त्यसको गरेनन्। उनको अवस्था के हो? कसो हो? भन्दै अस्पतालमा सोधिरहे।

कोल्टी अस्पतालले उनको स्वास्थ्यमा रक्तस्रावसँगै अरु पनि समस्या भएको हुन सक्ने जानकारी गराएको थियो। दिउँसो ३ बजेसम्म उनलाई थप अक्सिजन दिनुपर्ने अवस्था आइसकेको थियो। तर, कोल्टी स्वास्थ्य चौकीमा अक्सिजन दिन मिल्ने प्रविधि थिएन्।

अक्सिजनको लागि मार्तडी पुग्नु पर्थ्याे।

परिवारले हेलिकप्टर आउने छाँट नदेखेपछि गाउँपालिका अध्यक्षलाई फोन गरेर एम्बुलेसन्स नै भएपनि व्यवस्था गरेर अंशुलाई अक्सिजन दिन मिल्ने अस्पतालमा पुर्‍याइदिन आग्रह गर्‍यो।

गाउँपालिका अध्यक्षले एम्बुलेन्स पठाए। एम्बुलेसन्स पुग्न करिब ६–७ घण्टा लाग्थ्यो।

ताँजाकोट गाउँपालिका र जिल्ला प्रशासन हुम्लाबाट तत्काल हेलिकप्टरको व्यवस्था मिल्ने अवस्था नदेखेर अंशुको परिवारले जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशाकीय अधिकृतलाई पनि हेलिकप्टरको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए।

तर, जिल्ला प्रशासन कार्यालय बाजुराले राति १० बजेमात्र हेलिकप्टरको लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई चिठी पठायो। त्यसको केही मिनेटमा नै अंशुको मृत्यु भइसकेको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा जोमिखमा रहेका गर्भवती तथा सुत्केरीको निःशुल्क उद्दार कार्यक्रमको व्यवस्थापन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले गर्छ।

निःशुल्क हवाई उद्दारका लागि स्थानीय तह तथा जोखिममा परेका महिलाका आफन्तले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्नुपर्छ। प्रमुख जिल्ला अधिकारीले तत्कालै हेलिकप्टका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा खबर गर्छ। र, मन्त्रालयले नेपाली सेनालाई हेलिकप्टरको लागि सूचना दिन्छ। नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर सरकारले तोकेका अस्पतालमा लैजान्छ।

नेपाली सेनासँग ‘नाइट भिजन’ हेलिकप्टर छैनन्। त्यसैले बिहान उज्यालो भएपछि र साँझ अँध्यारो नहुँदासम्म मात्र सेनाले उद्दार गर्न सक्छ। निःशुल्क उद्दारका लागि सबै प्रक्रिया पुर्‍याएर नेपाली सेनामसम्म मन्त्रालयबाट खबर पुग्नुपर्छ।

अंशुको उद्दारका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले राति १० बजेर १२ मिनेट जाँदा बल्ल मन्त्रालयमा सूचना पठाएको थियो। सोमबार रातको समय भएकोले मन्त्रालयले मंगलबार बिहान ६ बजे बल्ल सेनालाई हेलिकप्टरको लागि सूचना पठाउने तयारीमा थियो। तर, अंशुले राति नै मृत्युवरण गरिन्।

कोल्टी स्वास्थ्य चौकीले १ बजे नै अंशुलाई अन्य अस्पताल लैजान भनेको थियो। अंशुको परिवारले पनि दिउँसो २ बजे नै सबै निकायहरुलाई गुहारिकेको थिए। तर, सम्बन्धित निकायहरुले अंशुको स्वस्थ्य अवस्थालाई गम्भीरतापूर्वक लिएनन्।

‘हामीले समयमै खबर गरेको थियौँ। तर, उहाँहरुले हेलिकप्टर पूर्वतिर गएको छ, आउन समय लाग्छ भन्नु भयो’, अंशुका दाजु कर्ण बुढाले बिएल नेपाली सेवासँग भने।

तर, गाउँपालिका अध्यक्षले भने परिवारले समयमै खबर नगरेका कारण समस्या भएको बताउँछ। ‘उहाँहरु हामीसँग सल्लाह नै नगरी कोल्टी जानुभएछ, हामीले पछि थाहा पायौँ, यसमा उहाँहरुको लापरबाही देखिन्छ। यहाँ भएको भए त हामीले समयमै केही गर्न सकिन्थ्यो कि’, गाउँपालिका अध्यक्ष जैसीले बिएल नेपाली सेवासँग भने।

दिउँसो ३ बजे नै खबर भएको रहिछ त्यो दुई घण्टामा तपाईंले किन हेलिकप्टरको लागि पहल नगरेको? बिएल नेपाली सेवाको प्रश्नमा उनले अध्यक्ष जैसीले भने, ‘ए सर, तपाईंलाई भन्न सजिलो छ। तर, यहाँ धेरै गाह्रो छ। हामीले विगतमा यस्ता धेरै काम गरियो। सिडियो, प्रशासनले कागजपत्रहरु माग्छ, अनेकौँ कुराहरु सोध्छ, ती कुरा मिलाउँदा मिलाउँदै ज्यान जान्छ।’

प्रकाशित मिति: : 2024-01-10 21:20:00

प्रतिकृया दिनुहोस्