छाेरी गंगासहितलाई यथावत् राखेर प्रधानमन्त्रीले हटाए निजी र स्वकीय सचिवालयका आधा कर्मचारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन्।

प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डको सल्लाहकार सचिवालयमा पाँच, स्वकीय सचिवालयमा ३१ र निजी सचिवालयमा चार जना रहेका छन्। जसमध्ये सरकारीतर्फका १० र निजीतर्फका आठ जनालाई हटाइएको हो। हटाइएकामा जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली, प्रशासन सल्लाहकार रामदीप आचार्य, प्रेस संयोजक नारायणप्रसाद ढुंगानालगायत छन्।

प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार रूपक सापकोटा, प्रमुख स्वकीय सचिव सन्तकुमार दरै, स्वकीय सचिव रमेश मल्ल र गंगा दाहाल भने यथावत् छन्। स्वकीय सहसचिव रहेका प्रेस विज्ञ मनहरि तिमिल्सिना, गोर्कण भट्ट र शिव खकुरेल पनि जिम्मेवारीमै रहेका छन्।

यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिवलगायत ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने महाशाखा र शाखाहरू घटाउन गृहकार्य भइरहेको छ। मन्त्रिपरिषद् कर्मचारीको कार्यसम्पादनमा प्रभावकारी बनाएर बढी परिणाम देखिने गरी परिणाम निकाल्न सचिवको विषयगत डेस्क तोक्ने र सूचना प्रविधि प्रयोग गरी काम चुस्त बनाउने तयारी छ।

गत साता मन्त्रिपरिषद् बैठकले उक्त रणनीतिक योजनासहितको प्रस्ताव स्वीकृत गरेको छ।

प्रकाशित मिति: : 2024-01-11 20:34:00

प्रतिकृया दिनुहोस्