कामदारको पैसा नदिएपछि स्थानीयले कब्जा गरे चुकेनी हाइड्रोकाे डोजर 

चुकेनी जलविद्युत् आयोजनाका ठेकेदारले कामदारको पैसा नदिएपछि स्थानीयले डोजर कब्जा गरेका छन्।

ठेकेदारले पातरासी गाउँपालिका–१ का स्थानीय महिलाहरूलाई आयोजनाका लागि गिट्टी कुट्न लगाएका थिए। 

तर आयोजना निर्माणको लामो समय अवधिसम्म समेत पैसा भुक्तानी नगरेपछि स्थानीयले डोजरको चाबी थुतेकाे वडा अध्यक्ष लालसिंह ऐडीले बताए।

ठेकेदारले आयोजना स्थलमा काम गर्न आएका कामदारको रासनपानी स्थानीय व्यापारीबाट लिएका थिए। उधारो खाएको रकम समेत लामो समयसम्म भुक्तानी नगरेको हुनाले स्थानीयले डोजर समातेको चुकेनी सहकारी संस्थाका सदस्य जयबहादुर ऐडीले बताए। 

'ठकेदारले मेरो पसलबाट उधारो लिएको ९२ हजार पैसा दिएका छैनन्। त्यसैले यो डोडर जफत गर्नुमा मेरो पनि हात छ,' उनले भने, 'डोजर नसमाती भुक्तानी पाउने सम्भावना नदेखेपछि सबै गाउँलेको सहमतिमा डाेजरको साँचो खोसिएको हो।'

चुकेनी जलविद्युत आयोजनाको ठेकेदारले पैसा आज–भोलि भन्दै चार वर्षसम्म धकेलेको स्थानीय बुद्धिबहादुर ऐडीले बताए।

'लामो समय हुन्जेल पैसा पाएनौं। त्यसैले हामीले भन्दा पनि हाम्रा महिलाहरूले ठेकेदारबाट पैसा असुल्न डोजर जफत गरेकाे हाे,' उनले भने, 'पैसा दिएपछि डोजरको साँचो फिर्ता गर्न समस्या छैन। नत्र साँचो फिर्ता हुँदैन।'

चुकेनी जलविद्युत् आयोजनाबाट फाइदा भन्दा पनि घाटा भएको हुनाले डोजर खोसिएको बुद्धि ऐडीले बताए। 

'बाटो बिगारेको छ। बाटो राम्रो गरेको छैन,' उनले भने, 'हामीले काम गरेको पारिश्रमिक पाएका छैनौं। त्यसैले डोजर खोस्नु स्वभाविक हो।'

पढ्ने केटीहरूले कापी–कलम गरौंला, महिलाहरूले घर खर्च चलाउँला भनेर आस गरि हातका औंला फुटालेर, रगत निकालेर गिट्टी कुट्दाको पीडा ठेकेदारले नबुझेपछि गाउँलेहरू डोजर खोस्न बाध्य भएको स्थानीय पटे ऐडीले बताए।

ठकेदार कम्पनीले वडा अध्यक्षलाई राखेर डोजर छुटाउन खोजे पनि पैसा भुक्तानी नगरुन्जेल मध्यस्थता गर्न नसकिने वडा अध्यक्ष ऐडीले बताए। 

'मलाई ठेकेदारले गाउँलेसँग काजग गराएर डोजर छोड्न लगाउनु पर्‍यो भनेर भनेका थिए। तर गाउँलेहरुले नमानेपछि मैले मध्यस्थता गर्न सकिनँ।'

उनका अनुसार ठेकेदार कम्पनीले चानचुन ३० देखि ४० लाखसम्म तिर्न बाँकी रहेको छ।

ठेकेदार कम्पनीलाई चाँडै कामदारको रकम भुक्तानी गर्न लगाउने र डोजर पनि फिर्ता गर्न लगाउने गरि लागेको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णासिंह बोहराले बताए। 

'ठेकेदार र कामदार, गाउँले, वडा अध्यक्ष सबैलाई सँगै राखेर छलफल गराई पैसा भुक्तानी गर्नलाई पहल गर्नेछौं,' उनले भने, 'त्यसपछि डोजर फिर्ता गर्न लगाउनेछौं। धेरै हदसम्म ठेकेदार कम्पनीको लापरबाही गरेको देखिन्छ।'

यता ठेकेदार कम्पनी मेगा हाइड्राे एण्ड इन्जिनियरिङका प्रबन्धक चन्द्र क्षेत्रीले अन्तिम भुक्तानी प्राप्त नभएका कारण स्थानीय पसलबाट उदारो खाएको र कामदारकोे पैसा नतिरिएको बताए।

'८ लाख दशैमा तिरेको हो। अब १४ लाख महिलाहरुले गिट्टी कुटेको पैसा र ७, ८ लाख स्थानीय पसलबाट उदारो खाएर तिर्न बाँकी छ,' उनले भने, 'त्यहाँ एकजनाको जग्गाबाट वडाअध्यक्षको रोहबरमा डोजर लिएको भएपनि पछि जग्गा धनिले पछि विवाद गरेका र कामदार महिलालेका कारण डोजर रोकिए हो।'

उनका उनुसार कब्जा गरिएको डोजर त्यहाँ स्थानीयको रोहबरमा फिर्ता लिने कोसिस भइरहेको छ।

९ सय ९८ किलाेवाट क्षमताकाे चुकेनी जलविद्युत् आयोजनाकाे मिति २०७६ जेठ १० गते सम्झौता भएको थियोे। सम्झौता भएको मितिबाट १८ महिनामा सकिनुपर्ने आयोजनाबाट हालसम्म विद्युत् उत्पादन हुन सकेको छैन।

प्रकाशित मिति: : 2024-01-17 18:18:00

प्रतिकृया दिनुहोस्