पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ।
बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा यही माघ १५ गते आरोहण प्रतियोगिता (टप रोप इडिसन) हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। युएस नेपाल क्लाइम्बर्स एसोसिएसनले नेसनल माउन्टेन गाइड एसोसिएसनसँगको सहकार्यमा तेन्जिङ नोर्गे शेर्पाका नाममा उक्त प्रतियोगिता गर्न लागेको हो।
एसोसिएसनका पूर्वसंस्थापक अध्यक्ष सेराप जाङ्बु शेर्पाले आरोहणको खेललाई प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आरोहण प्रतियोगिता आयोजना गर्न लागिएको बताए। उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।
‘हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले यसपटक आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ’, पूर्वअध्यक्ष शेर्पाले भने।
कार्यक्रमले प्रतिस्पर्धामात्र होइन, आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका संयोजक तथा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका महासचिव छिरिङ जाङबु शेर्पाले बताए। उनले भने, ‘यो प्रतियोगितामात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रद्धाञ्जलि पनि हो।’
उक्त प्रतियोगिता पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ। पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने आयोजकले जनाएको छ। सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेन्जिङ नेर्गे शेर्पा र न्यूजिल्यान्डका सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरेका थिए।