कर्णालीको चित्र छुट्यो भने देशको चित्र अपूरो हुन्छ: सुधा शर्मा 

महेश नेपाली

काठमाडाैं

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा. सुधा शर्माले देशको स्वास्थ्य राम्रो बनाउन कर्णालीको तस्बिर गतिलो हुनुपर्ने बताएकी छन्।

प्रसूति र पितृसत्ता विषयमा विद्यत् प्रवचन दिन 'कर्णाली उत्सव कुडा कर्णालीका'मा भाग लिन सुर्खेत पुगेकी डा. शर्माले कर्णालीको तस्बिर बिना देशको तस्बिर पूरा नहुने बताइन्।

कर्णालीका महिला पछि परेको खण्डमा सिंगो देश पछि पर्ने र दिगो विकासको लक्ष्य पूरा नहुने उनको भनाइ छ।

'परापूर्व कालको सम्पन्न कर्णाली विस्तारै विपन्न हुँदै गयो। यसले एउटा खराब बिम्बको निर्माण गर्‍यो, ती हुन अविकास र गरीबी,' उनले भनिन्, 'अब कर्णाली बिम्ब परिवर्तन गर्ने ठाउँमा पुगेको छ।' 

कुनैबेला जन्मिएका एक हजार जना बालबालिकामा एक सय १९ जना बालिका मर्ने कर्णालीको शिशु  मृत्युुदरमा निकै सुधार भएको उनले बताइन्। 

उनका अनुसार दुई वर्ष अगाडि नवजात शिशु मृत्युदर घटेर एक हजार जनाबाट २६ जनामा झरेको छ। तथापि यो पर्याप्त छैन। देशमा औषत शिशु मृत्युदर एक हजारमा २२ पुगेकाे छ।

उनले २०५३ देखि हालसम्म कर्णालीले राम्रो प्रगति हासिल गरेको बताइन्। यसका लागि महिला शिशा अनिवार्य गर्नु आवश्यक रहेको उनको तर्क छ। उनले भनिन्, 'देशको भविष्य राम्रो बनाउन महिलाको भविष्य राम्रो हुनुपर्छ।'

समग्र देशको तुलनामा कर्णालीमा बाल विवाह सबैभन्दा बढ्ता छ। जसले मातृ मृत्युुदर बढाइरहेको छ। 

१ लाख गर्भवतीमा आमामा  एक सय ५१ आमा मर्ने देशको कर्णाली क्षेत्रमा भने एक सय ७१ आमाको मृत्युु भइरहेको छ। 'अब सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्नु पर्नेछ। अनिमात्र सहस्राब्दी लक्ष्य हासिल गर्न सकिनेछ', उनले भनिन्। 

तथ्यांकमा सुधार भएर मात्रै आशा गर्नु ठाउँ नरहेको उनको तर्क छ। 'कुन वर्ग, समुदाय, जातजातिको स्वास्थ्य क्षेत्रमा कतिको पहुँच पुगेको छ। त्यो महत्त्वपूर्ण हुन्छ,' उनले भनिन्, 'यो बहसको विषय हो। पीडित हुनेहरुको स्तर साह्रै कमजोर छ। महिलाहरु बढी छन्।'

संख्याका हिसाबले स्वास्थ संस्थाको राम्राे उपलब्धता भएको कर्णालीमा सेवा प्रवाहको स्तर साह्रै कमजोर भएको डा. शर्माले बताइन्।

'देशको आधा जनसंख्यालाई स्वास्थ्य संस्थासम्म पुग्न ३० मिनेटमा लाग्छ। तर कर्णालीका  जम्मा ३० प्रतिशत जनता मात्रै ३० मिनेटमा स्वास्थ संस्थामा उपचारका लागि पुग्न सक्छ,' उनले भनिन्, 'अब कर्णालीले सकारात्मक प्रतिस्पर्धा गर्नुपर्छ। यसले अगाडि बढ्ने र संघर्ष गर्ने बाटो पहिल्याउन सक्छ। अनि मात्रै कर्णाली जित्न तत्पर हुन्छ।'

नेपालको नारीवादी आन्दोलनले महिलाको अधिकार स्वतन्त्रता र सम्मानको माग गरिरहेको छ। यी कुरा उपभोग गर्ने सवाल महत्त्वपूर्ण हो। नियन्त्रण मुखी र विकानसकारी पितृसत्ता समस्यामूलक देखिएको उनले बताइन्। 

'महिला स्वास्थ्य कमजोर भयो भने परिवार कमजोर हुन्छ,' उनले भनिन्, ' कर्णालीका महिला पछि परेको खण्डमा देश पछि पर्नेछ र दिगो विकासको लक्ष्य पुरा हुनेछैन।'

गर्भास्था भन्दा अगाडि रगत बगेको खण्डमा आमा मर्ने सम्भावना अत्यधिक हुन्छ। यो अवस्था कर्णालीले युगौंदेखि भोग्दै आएको छ।

अब बालिक भएपछि मात्रै विवाह गर्ने, स्तरीय स्वास्थ्य उपचार खोज्ने र शिक्षा दिन तत्पर हुनपर्ने उनको भनाइ छ।

'हामी बेलाबेला चुकिरहेका छौं। किन चुक्यौं  भन्ने प्रश्न महत्त्वपूर्ण हो।  जब हामी चुकेको प्रश्न नै बुझ्न सक्दैनौं तब हामी कहिले अगाडि बड्दैनौं।'

नेपालमा गर्भास्था भदेखि नै छोरीको हत्या भइरहेका तथ्यांकहरु छन्। प्रवचनको क्रममा उनले पेश गरेको १२ जिल्लाको तथ्यांक अनुसार नेपालका १२ जिल्लामा एक सय छोरी जन्मिदा एक सय १० जना छोरा जन्मिरहेका छन्।

उनले भनिन्, 'छोरा छोरी बराबर जन्मिनुपर्ने समाजमा छोराको चाह बढ्दैछ। यसले देशको चित्र कस्तो बन्ला? हामी कहाँ पुगौंला?'

उनका अनुसार समाजका सबै ठाउँमा अग्रस्थानमा रहने पुरुष श्रीमतीको ज्यान जाँदा निरीह बन्छ र तत्काल नयाँ श्रीमती खोज्छ। तर श्रीमान् मरेको महिला उसका लालबाला सम्हालेर बस्छ।  हेला, होचो र अबहेलना सहन बाध्य छ। यही नै पितृसत्ताको असर हो।

आँङ खस्ने समस्याले महिलाहरु पीडित छन्। नेपालमा मिहला शिक्षा, सशक्तीकरणका प्रयास नभएका होइनन्। तर आफ्नै घर पहिरवारबाट परिवर्तनको सुरुवात गर्न नसक्नु समस्या भएको उनको भनाइ छ।

उनले निराशाका कुरा मात्रै गरिनन्। महिला आर्थिक रुपमा स्वतन्त्र बन्दै गएको समेत बताइन्। उनले भनिन्, '१३ लाख ३० हजार घर परिवारमा महिला घरमुली छन्।'

आशाहरूका बीचमा पनि समाजमा समास्याको ढोका पालेको रुपमा पितृसत्ता उभिएको छ। जो महिलाप्रति क्रुर छ। छोरी पढाउने, कुरीति अत्य गर्ने, बालबविवाहको विरुद्धको कानुन प्रभावकारी रुपमा लागु गर्न सके समस्याहरू कम हुँदै जाने उनको भनाइ छ।

स्वास्थ्य समस्या महिलामा बढी छ। यसले समाजलाई बढी असर पारेको छ। महिलालाई रोग लाग्न नदिन समुदायको सहभागिता आवश्यक छ। नेपालमा सबै जनतालाई आधारभूत स्वास्थ सेवा नि:शुल्क दिने कानुनी प्रावधान छ। यसलाई प्रभावकारी बनाउन जरुरी छ। 

कर्णालीमा परिवारको १३ प्रतिशत खर्च स्वास्थ्य सेवाका लागि भइरहेको छ। जायजेथा बेचेर उपचार गर्नुपर्दा गरिब झन् गरिब बन्दै गएकाे उनले बताइन्।

 'सरकारको बजेटको ठूलो परिणाम अनावश्यक सामग्री खरिदमा गइरहेको छ,' उनले भनिन्, 'तर कर्णाली ४२ प्रतिशत विशेषज्ञ दरबन्दी खाली छ। हरेक सेवामा प्रभावकारीता जरुरी छ।' 

उनले पछिल्लो समय सुधार राम्रो भएपनि यसको गति बढाउनु पर्ने उनको भनाइ छ। यसका लागि समतामूलक स्वस्थ समाजको निर्माण गर्न चाहने दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वको खोजी हुनुपर्ने उनको दृष्टिकोण छ।

प्रकाशित मिति: : 2024-02-17 19:41:00

प्रतिकृया दिनुहोस्