‘पार्टीहरूको लोकतन्त्र अझै बाँकी छ’

महेश नेपाली

काठमाडाैं

कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौं संस्करणमा लोकतन्त्रको विषयमा प्यानल बहस भएको छ।

वरिष्ठ पत्रकार जनक नेपालले सहजिकरण गरेको 'लोकतन्त्र दलभित्र–देशभित्र' सत्रमा प्रतिनिधि सभाका सदस्यहरु हृदयराम थानी, महेश बर्तोला, बागमती प्रदेश सभाका सदस्य सरल सहयात्री र कर्णाली प्रदेश सभा मा. कल्याणी खड्काले छलफल गरे।

संसारमा चार प्रकारका लोकतान्त्रिक शासन व्यवस्था काम रहेको तथ्य प्रस्तुत गर्दै पत्रकार नेपालले  पूरा लोकतन्त्र, कमजोरी सहितको लोकतन्त्र, तानाशाही र ठिमाह लोकतन्त्रको नाम उल्लेख गरे।

उनले नेपालको शासन व्यवस्था ठिमाह रहेको अनुसन्धानको तथ्य प्रस्तुत गर्दै सत्रको सुरुवात गरे।

प्रजातन्त्र दिवसको दिन संयोगले गरिएको छलफलमा लोकतन्त्रको खास परिभाषाको विषयमा फराकिलो कोणबाट छलफल भयो।

कर्णाली उत्सवका वक्ताका रुपमा सहभागी नेताहरुले दलका नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्ने चुनौती रहेको बताएका छन्।

प्रतिनिधि सभा सदस्य हृदयराम थानीले लोकतान्त्रिक मान्यता अनुसार राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरुले आफन्तलाई ठाउँ दिएर नेताकै आासेपासेले परफाइदा लिएको बताए।

'भाउजु र श्रीमतीहरूले लाभ लिइरहेको अवस्था छ।  संसदमा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरु कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ,' उनले भने, 'कतिपय दलहरु अहिले यही लोकतान्त्रिक पद्धतिमा जान सकेका छैनन्। यो ठूलो समस्या हो।' 

दलहरुले लोकतान्त्रिक पद्धतिलाई अबलम्बन गर्न सकेमात्रै देशको लोकतन्त्र बलियो हुने प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले बताए। 

उनले भने, 'मुलुकका हरेक शक्तिहरु जनताको नियन्त्रणमा छ भन्ने आभास जनतालाई गराएमा मात्र लोकतन्त्रको पूर्ण कार्यान्वयन भएको महसुस हुनेछ।'

दलहरूमा आन्तरिक रूपमा लोकतान्त्रिक प्रणाली बलियो नभए पनि निराश भइहाल्नुपर्ने स्थिति नरहेको बागमती प्रदेश सभा सदस्य सरल सहयात्रीले बताए।

उनले भने, 'युवा पुस्ताका नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थित गरेर लैजाने विषय ठूलो चुनौती हो। तथापी हामीले भर्खर नेकपा माओवादी केन्द्रको विधान अधिवेशनले प्यानल नै मनोनीत हुने व्यवस्था अन्त्य गरि व्यक्ति मात्रै मनोनीत हुने व्यवस्था गरेको छ। यो पनि दललाई लोकतान्त्रिक गर्ने अभ्यासको निरन्तरता हो।'

आगामी दिनमा दल र देश दुबैमा लोकतान्त्रिक प्रणाली अबलम्बन गर्ने कुरा पेचिलो बन्दै गएको सहयात्रीले थपे।

तर लोकतन्त्रिक पद्धति अबलम्बन गराउन सकिने कानुनहरु पूर्ण कार्यान्वयनमा लैजान नसक्दा जनताले लोकतन्त्रको आभास गर्न नसकेको उनीहरूको बुझाइ छ।

लोकतन्त्रका लागि पटकपटक लडाई लडे पनि लोकतन्त्रलाई सही बाटोमा लिन नसकिएको नेता थानीले बताए।

'गणतन्त्रपछि भ्रष्टचार झन् बढेको छ,' उनले भने, 'हामी दलहरू पनि सुध्रिनुपर्ने छ। दलहरू सुध्रिएर अघि बढे लोकतन्त्रको पूर्ण कार्यान्वयन हुन्छ।'

जनताको प्रतिनिधि सरकार निरङ्कुश बन्दै प्रसंग निकाल्दै नेता थानीले भने 'ऐन कानुनबाट नियमन गर्नुपर्ने सामाजिक सञ्जाल टिकटक बन्द गरिन्छ। यसमा लोकतन्त्र कसरी प्रत्याभूत गर्ने?'

राज्य सञ्चालनमा पुगेका दलहरूका कतिपय गतिविधिले पनि आम जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको सबै सांसदहरूको एक मत छ।

कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले लोकतन्त्रका लागि दलहरूले लोकतन्त्रका लागि महत्वपूर्ण संघर्ष गरे पनि नियम कानुन कार्यान्वयन गर्न नसक्नुले जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताइन्।

'दलहरुले जनतालाई सार्वभौम हुन् र हामी सार्वभौम जनताका प्रतिनिधि हौं भन्ने विश्वास गर्न सकेका छैनन्,' उनले भने, 'यी कारणले नागरिक लोकतन्त्रप्रति निराश देखिएका छन्।'

लोकतन्त्रको खम्बाका रूपमा रहेका दलहरु जति मजबुत र लोकतान्त्रिक भए त्यति नै मुलकको लोकतान्त्रिक संस्कार प्रवद्र्धन हुने प्रतिनिधि सभा सदस्य बर्तौलाले बताए।

दलहरुले निर्माण गर्ने विचार उच्च लोकतान्त्रिक मूल्य र मान्यताबाट निर्देशित हुनुपर्ने उनले बताए।

'हामी दलहरुले आफूलाई सही ढंगबाट अघि बढाउनुपर्छ, हामी चुनाव जित्नमा मात्र केन्द्रित हुन्छौं, जुन लोकतन्त्रको मान्यता होइन,' उनले भने, 'लोकतन्त्रको मान्यता भनेको हार स्वीकार गर्न सक्नु हो, यसको मतलब हामी दलहरु नै लोकतान्त्रिक भएनौं।'

लोकतन्त्र सुरुआती चरणमा रहेकाल निराश हुन नहुने बागमती प्रदेश सभा सदस्य सहयात्रीले बताए।

उनले थपे, 'आगामी दिनमा लोकतान्त्रलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा दलहरुले व्यापक रुपमा छलफल गर्नुपर्छ।'

प्रकाशित मिति: : 2024-02-19 17:46:00

प्रतिकृया दिनुहोस्