प्रधानमन्त्री प्रचण्डले भने- सरकारले पहल गरिरहेकाे छ, समस्या चाँडै समाधान हुन्छ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन्।
लघुवित्त पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त समस्या समाधान गरिने विश्वास दिलाए।
प्रधानमन्त्री दाहालले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो तर पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ। यसमा कतिपय परिस्थितिजन्य अप्ठ्यारा र कतिपय सञ्चालकको बेइमानी जिम्मेवार रहेको छ, सोही बमोजिम समस्या समाधानमा पुगिनेछ।’
उनले लघुवित्त क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र सङ्कटग्रस्त हुँदै गएको उल्लेख गर्दै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताए। प्रधानमन्त्रीले जिम्मेवारीपूर्वक समस्या समाधानका पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए।
छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
त्यसक्रममा लघु वित्तीय शोषणमा परेका नागरिकका मागका सम्बन्धमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले माग पूरा गराउने सवालमा सरकारसँग पहल गरेको छ। आन्दोलनरत नागरिकको व्यवस्थापनमा सहजीकरण गरिएको उपमहासचिव बुद्ध बस्नेतले बिएल नेपाली सेवालाई जानकारी दिए।