प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेकाे छ।
प्रतिनिधिसभामा शुक्रबार कांग्रेस सांसदहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग्दै बैठक अवरुद्ध गरेका हुन्।
कांग्रेस सांसदहरूले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेका छन्।
बैठकमा सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक-पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराए।
उनले भने, ‘प्रतिपक्षले उठाएका विषयमा प्रधानमन्त्रीले जवाफ दिनका लागि संसदबाट रुलिङ भएको छ। तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्ने प्रस्तावमाथि छलफल गर्न सकिँदैन। तर प्रतिपक्ष नेपाली काँग्रेसले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा अवरोध गर्दैन।’
आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।
सभामुख देवराज घिमिरेले निर्धारित कार्यसूचिमा अगाडि बढ्न आग्रह गरेपनि प्रतिपक्षी दलका सांसदले आसनबाट उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।