चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्। 

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिइएको थियो।

उनका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलव ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन। गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभियानका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई खोप लगाइएको थियो।  

उनका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरूलाई खोप दिइएको हो। अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ। अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वयंसेवक परिचालन गरिएको थियो।

अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो। जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो।  

प्रकाशित मिति: : 2024-03-25 19:30:00

प्रतिकृया दिनुहोस्