कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाकाे घोषणा गरेका छन्।
बुधबारकाे प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
कर्णालीमा नेकपा (एमाले)लाई मुख्यमन्त्री दिने सत्तारुढ दलबीच सहमति भएबमोजिम नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट मुख्यमन्त्री रहेका शर्माले राजीनाको घोषणा गरेका हुन्।
मुख्यमन्त्री शर्माले सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण संसदीय अङ्क गणितको प्रहारमा प्रदेश सरकार रुमलिएको बताए। उनले सत्ता समीकरणका फेरबदलका कारण नियमित काममा अवरोध भएको समेत अनुभव सुनाए।
‘सङ्घ र प्रदेशमा विकसित राजनीतिक अस्थिरताका कारण नियमित काम गर्न नसक्ने अवस्था आयो’, उनले भने, ‘राजनीतिक समीकरणमा भएको परिवर्तनले पटक–पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको छ।’
उनले कर्णाली प्रदेश समृद्धिका लागि सबै पक्ष सकरात्मक भएर लाग्नुपर्नेमा जोड दिए। उनले आफूले कार्यकालभरी धेरै काम गरेको उल्लेख गर्दै अझै कतिपय काम चाहेर पनि गर्न नसकेको बताए।
डिजिटल कर्णालीका लागि आवश्यक रणनीति तथा कर्णाली लगानी सम्मेलनका लागि प्रयास भएको उनले बताए। ‘कर्णालीका २३ वटा स्थानीय तहलाई नमुना बनाउनेतर्फ पनि काम भएका छन्’, उनले भने, ‘योजना छनोटलाई बस्तुगत तथा प्रभावकारी बनाइएको छ।’